रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ हुन अब २५ दिन मात्रै बाँकी रहँदा रामेछापमा चुनावी सरगर्मी क्रमशः बढ्दै गएको छ। आगामी फागुन २१ गते बिहीबार हुने निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित देखिएका छन्।
यस पटकको निर्वाचन प्रचार–प्रसार शैली भने विगतका निर्वाचनभन्दा फरक देखिएको छ। ठुला–ठुला सभा, महँगा कार्यक्रम र भड्किलो प्रचारभन्दा पनि उम्मेदवारहरू साना बैठक, घरदैलो र खेतबारीमै पुगेर मत माग्ने अभियानमा सक्रिय छन्। ठुला, साना तथा नयाँ राजनीतिक दलहरूले निर्वाचन लक्षित ठुला सभा तथा कार्यक्रम गरेका छैनन् ।
उम्मेदवारहरू थोरै नेता–कार्यकर्तासहित मतदाताको घर–घरमा पुगिरहेका छन् भने खेतीपातीमा व्यस्त मतदातालाई भेट्न खेतबारीमै पुग्ने क्रम पनि बढेको छ। जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार यस निर्वाचनमा जिल्लामा १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन्। निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार जिल्लामा ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा ३ जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवारहरूमा अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरे रहेका छन्।
राजनीतिक दलतर्फ नेपाली काङ्ग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधवप्रसाद ढुङ्गेल, नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. कृष्णहरि बुढाथोकी उम्मेदवार रहेका छन्। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङ्गी मगर, नेसनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योञ्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरेन्द्र श्रेष्ठ, आम जनता पार्टीबाट पदमबहादुर तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट विनोद घिसिङ तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट यमुनबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्। रामेछापमा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र खड्काले साना बैठक र घरदैलोमार्फत मतदाताको मन जितेर चुनाव जित्ने विश्वास व्यक्त गरे।
उनले भने,“निर्वाचनका नाममा नेपाली काँग्रेस गाडीमा मान्छे बोकेर, राँगा–भैँसी–खसी काटेर भोज गर्ने र मान्छे जम्मा गरेर भाषण सुनाउने कार्यक्रम गर्दैन। साना बैठक र घरदैलोमार्फत मतदाताको मन जितेर चुनाव जित्ने विश्वास छ।” उता नेकपा एमाले ले पनि तडक–भडकयुक्त ठुला सभाभन्दा मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको जनाएको छ। एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया ले भने, “निर्वाचन आयोगको आचारसंहिताको पूर्ण पालना गरेर हामी कार्यक्रम सञ्चालन गरिरहेका छौँ। अहिले हाम्रो उम्मेदवार माधवप्रसाद ढुङ्गेल मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूको गुनासो सुन्ने, सुझाव लिने र आफ्नो एजेन्डा सुनाउन व्यस्त हुनुहुन्छ।” यसै गरी नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठ र रास्वपाका डा. कृष्णहरि बुढाथोकी लगायत अन्य उम्मेदवारहरू पनि गाउँ–गाउँमा घरदैलो कार्यक्रममै सक्रिय छन्। उनीहरूले काठमाडौँमा रहेका रामेछापेली मतदातासँग भेटघाट गर्दै आफ्ना धारणा राख्नुका साथै जिल्लाभरि पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।
२०७९ को निर्वाचनमा रामेछाप
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रामेछाप जिल्लाबाट नेपाली काँग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रिएको थियो। उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेललाई पराजित गर्दै काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका थिए। तामाङले ४७ हजार ९९ मत प्राप्त गर्दै विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार ढुङ्गेलले ३० हजार ७३० मत ल्याएका थिए।
उक्त निर्वाचनमा अन्य उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लाबहादुर घिसिङले १ हजार ४८४ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समीक्षा श्रेष्ठले १ हजार ४५९ मत तथा नेकपा (माले) का उम्मेदवार मोहन कार्कीले ८५८ मत प्राप्त गरेका थिए। यस निर्वाचन क्षेत्रमा कुल १ लाख ८० हजार १०६ मतदाता रहेका थिए।
समानुपातिकतर्फ प्राप्त मत परिणाम अनुसार नेकपा एमालेले २८ हजार १५० मत ल्याएर पहिलो स्थान हासिल गरेको थियो। त्यसपछि नेपाली काँग्रेसले २४ हजार १०१, तत्कालीन नेकपा माओवादी केन्द्रले २१ हजार ५४, रास्वपाले ४ हजार ६२६, राप्रपाले २ हजार ७०१, एकीकृत समाजवादीले १ हजार ३४८ र नेकपा मालेले ४२८ मत प्राप्त गरेका थिए। २०७९ को निर्वाचन परिणामले रामेछापको राजनीतिक समीकरण र मतदाताको झुकाव स्पष्ट रूपमा देखाएको थियो।