रामेछापमा पुस्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना

  • प्रकाशित मिति: शनिबार, माघ २४ २०८२
  • तामाकोशी

रामेछाप, माघ २४ । प्रेस चौतारी नेपाल रामेछाप शाखाको अगुवाइमा अबदेखि हरेक वर्ष पुस्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। पत्रकारिताको माध्यमबाट लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको पक्षमा योगदान पुर्‍याउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो।
पुरस्कारको राशी नगद २० हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिने प्रेस चौतारी नेपाल रामेछाप शाखाका अध्यक्ष लेख बहादुर विकले जानकारी गराउनुभयो। पुरस्कारका लागि स्थापना गरिएको कोष सञ्चालनमा समाजसेवी तथा नेता रत्नप्रसाद गौतमले आर्थिक सहयोग गर्नुभएको छ।
प्रेस चौतारीका अनुसार उक्त पुरस्कार हरेक वर्ष साउन महिनाको ७ गते पुस्पलाल स्मृति दिवसको अवसरमा प्रदान गरिनेछ। पुरस्कारले व्यावसायिक, जिम्मेवार र तथ्यमा आधारित पत्रकारितालाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
उक्त पुरस्कारको घोषणा आज मन्थलीमा प्रेस चौतारी नेपालको स्थापनाको अवसरमा आयोजित कार्यक्रममा गरिएको हो।
शाखाले पुरस्कार स्थापनाले पत्रकारिताको गरिमा अभिवृद्धि हुनुका साथै नयाँ पुस्ताका पत्रकारलाई पेशागत रूपमा प्रेरणा मिल्ने अपेक्षा व्यक्त गरेको छ। साथै, पुस्पलालको विचार, योगदान र संघर्षलाई स्मरण गर्दै समाज रुपान्तरणमा पत्रकारिताको भूमिकालाई अझ सबल बनाउने लक्ष्य राखिएको जनाइएको छ।