रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा गए राति खोर फोडेर दुई वटा खसी चोरी भएको छ । चिसापानीको राताघरेस्थित स्थानीय सम्बरबहादुर सार्कीको खोरबाट शनिवार राति खसी चोरी भएको हो ।
स्थानीय भुवनकुमार श्रेष्ठका अनुसार घर नजिकै रहेको खोरको ढोका फोडेर दुई वटा खसी चोरी गरिएको थियो । चोरी गरिएका मध्ये एउटा खसी चोरी भएको स्थानभन्दा करिब ५ सय मिटर माथि चिसापानी देउराली डाँडा र घडिछाप वनको बिचमा छाडिएको अवस्थामा फेला परेको छ भने अर्को खसीको खोजी कार्य जारी रहेको छ ।
मन्थली नगरपालिका–८ का वडा अध्यक्ष गोपाल श्रेष्ठले शनिवार राति खोर फोडेर खसी चोरी भएको पुष्टि गर्दै एउटा खसी फेला परे पनि अर्को खसी अझै फेला नपरेको जानकारी दिए । उनका अनुसार स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको छ ।
रामेछाप जिल्लामा पछिल्लो समय चोरीका घटनाहरू बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित भएका छन् । पछिल्ला दिनहरूमा घर फोड्ने, नगद तथा गरगहना चोरीका घटना भइरहेका बेला अब पशु चोरीसमेत हुन थालेपछि सुरक्षाप्रति आम नागरिकमा त्रास बढेको छ ।