रामेछापको उमाकुण्ड गाउँपालिकामा मानसिक स्वास्थ्य सचेतना अभियान

  • प्रकाशित मिति: शनिबार, माघ १० २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा स्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पातलिँदै गएको मानव बस्ती र बढ्दो मानसिक तनावको अवस्थालाई मध्यनजर गर्दै नागरिकलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख अभिजीत सुनुवारले जानकारी दिए ।

गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको र आगामी दिनमा पनि थप प्रभावकारी रूपमा सञ्चालन गरिने उनले बताए । कार्यक्रममा नसर्ने रोग सम्बन्धी सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको थियो । मानसिक स्वास्थ्य सचेतना कार्यक्रमकी प्रशिक्षक कविता सुनुवारले परामर्श सेवा प्रदान गरेकी थिइन् ।



पछिल्लो समयमा मानसिक चिन्ताका कारण १५ देखि १९ वर्ष उमेर समूहका धेरै युवाहरूले ज्यान गुमाउने अवस्था बढ्दै गएको उल्लेख गर्दै यस्ता सचेतना कार्यक्रमले युवालाई ठूलो राहत पुग्ने बताइन् ।
आर्थिक वर्ष २०८२÷०८३ मा कार्यक्रमका लागि उमाकुण्ड गाउँपालिकाका ३ वटा वडाहरू छनोट गरिएको थियो । जसअन्तर्गत माघ ७ गते वडा नं. २ बाम्ती, माघ ८ गते वडा नं. ७ भुजी र माघ १० गते वडा नं. ५ प्रीति क्षेत्रमा कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा वडा भित्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, आमा समूह, शिक्षक, विद्यार्थी, तथा स्थानीय धामी–झाँक्रीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।