रामेछाप । सैनिक श्रीमती संघ (नेपाली सेना)ले आफ्नो कल्याणकारी तथा सेवामूलक सामाजिक अभियान अन्तर्गत रामेछापको दुर्गम हिमाली क्षेत्रमा रहेको विद्यालयका १६७ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।
उमाकुण्ड गाउँपालिका–१ स्थित महालङ्गुर माविमा बुधवार आयोजित कार्यक्रममा सैनिक श्रीमती संघको कल्याणकारी तथा सेवामूलक सामाजिक कार्यअन्तर्गत अति विकट र पिछडिएका समुदायका साथै अति विपन्न विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्ने कार्यको निरन्तरता अनुरुप संघकी अध्यक्ष निता क्षेत्री सिग्देलको निर्देशनमा न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको हो ।
संघकी सदस्य कोपिला काफ्ले नेतृत्वको टोलीले १६७ जना विद्यार्थीलाई ज्याकेट, टोपी, ब्याग, जुत्ता र मोजासहित न्यानो पोसाक वितरण गरेको हो ।
साथै विद्यालयलाई एक थान कम्प्युटर, कपी १५ दर्जन, सिसा कलम १२ दर्जन, रजिस्टर १२ थान, भलिबल र नेट २/२ थान, चार सेट ब्याडमिन्टन तथा विभिन्न कथाका पुस्तकहरू पनि प्रदान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक अमृत थापाले दुर्गम हिमाली भेगका विद्यार्थीलाई यस्तो सहयोग प्राप्त हुनु अत्यन्त सकारात्मक भएको बताए । यसले विद्यार्थीलाई राहत मिल्नुका साथै शिक्षामा थप प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाली सेनाको खड्गदल गणका गणपति प्रमुख सेनानी प्रमोद पौड्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भोला भट्ट, शस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण खत्री, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत निर्मल पौडेल, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी थापाले दुर्गम क्षेत्रका विद्यालयलाई लक्षित गरी सैनिक श्रीमती संघले न्यानो पोसाक, शैक्षिक तथा खेलकुद सामग्री प्रदान गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गरे । यस सहयोगले विद्यार्थीको स्वास्थ्य, शिक्षा र खेलकुद क्षमतामा सकारात्मक सुधार आउने उनको अपेक्षा छ ।
