रामेछापको सुनापति गाउँपालिका–५ स्थित बाल माविले स्वर्ण जयन्ती मनाउँदै

  • प्रकाशित मिति: बुधबार, माघ ७ २०८२
  • तामाकोशी

रामेछाप । सुनापति गाउँपालिका–५ भिरकोटमा अवस्थित बाल माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ ।

विद्यालयले आधा शताब्दी लामो शैक्षिक यात्रालाई स्मरणीय बनाउँदै माघ १० गते शनिवार सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउन लागेको हो ।
बाल माविका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी माइकल लामाका अनुसार समारोहमा विद्यालयको इतिहास, उपलब्धि र शिक्षामा पु¥याएको योगदानलाई उजागर गर्ने उद्देश्यले विविध कार्यक्रम समावेश गरिएको छ ।



समारोहमा विद्यालयका जग्गादाता, संस्थापक व्यक्तित्व, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व शिक्षक–अभिभावक संघ अध्यक्ष, पूर्व प्रधानाध्यापक, दीर्घ सेवा गरेका शिक्षक तथा कर्मचारी, वर्तमान विद्यार्थी, पूर्व विद्यार्थी, समाजसेवी तथा सहयोगी दाताहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ । विद्यालयका प्रधानाध्यापक चक्रबहादुर मानन्धरले ग्रामीण भेगमा शिक्षाको उज्यालो फैलाउँदै बाल माविले सयौँ विद्यार्थीलाई औपचारिक शिक्षासँगै अनुशासन, संस्कार र सामाजिक जिम्मेवारीको पाठ सिकाउँदै आएको बताए ।

“स्रोत–साधनको अभाव, भौगोलिक कठिनाइ र विविध चुनौतीबिच पनि विद्यालयले आफ्नो शैक्षिक यात्रालाई निरन्तर अगाडि बढाउँदै यहाँसम्म आइपुगेको छ । यो सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी र समुदायको सामूहिक योगदानको परिणाम हो,” प्रधानाध्यापक मानन्धरले भने ।
स्वर्ण जयन्ती समारोह सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने विद्यालयले जनाएको छ । समारोहअन्तर्गत शैक्षिक प्रदर्शनी, सांस्कृतिक प्रस्तुति तथा स्काउटद्वारा विशेष कार्यक्रम प्रस्तुत गरिनेछ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु लामाले विद्यालयको ५० वर्षे यात्रा सफल, ऐतिहासिक र प्रेरणादायी रहेको उल्लेख गर्दै स्वर्ण जयन्ती समारोहलाई केवल उत्सव मात्र नभई भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउने लक्ष्य लिइएको बताए । साथै उनले

सम्पूर्ण जग्गादाता, पूर्व पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी, समाजसेवी तथा शिक्षा प्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेका छन् ।