उमाकुण्ड गाउँपालिकाको लगानीमा बनेको चमेना गृह सञ्चालन 

  • प्रकाशित मिति: शुक्रबार, माघ २ २०८२
  • तामाकोशी

रामेछाप । दुर्गम हिमाली उमाकुण्ड गाउँपालिका–५ प्रीतिको सरस्वती माध्यमिक विद्यालयमा गाउँपालिकाले निर्माण गरेको चमेना गृह औपचारिक रूपमा सञ्चालनमा आएको छ।

गाउँपालिकाको ७ लाख रुपैयाँको बजेटमा निर्माण गरिएको भवन सम्पन्न भएको करिब ६ महिनापछि आजदेखि सेवा सुरु गरिएको हो। आवश्यक सञ्चालनकर्ता नपाउँदा केही समय ढिलाइ भएको भए पनि अब नियमित रूपमा विद्यार्थीलाई विद्यालयमै ताजा र पौष्टिक खाजा उपलब्ध गराइने विद्यालय प्रशासनले जनाएको छ।



विद्यालयका प्रधानाध्यापक कल्याणकुमार सुनुवारका अनुसार अब विद्यार्थीले घरबाट खाजा बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ। “विद्यालयमै फरक–फरक दिन पौष्टिक खाजा उपलब्ध गराइने भएकाले बालबालिकाको स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव पर्नेछ,” उहाँले भन्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीणकुमार सुनुवारका अनुसार ECD देखि कक्षा ३ सम्म प्रतिमहिना २०० रुपैयाँ र कक्षा ४ देखि १० सम्म प्रतिमहिना ३५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

दुर्गम क्षेत्रका विद्यालयमा पोषण र नियमित उपस्थितिलाई बल पुर्‍याउने उद्देश्यले गाउँपालिकाले सुरु गरेको यो कार्यक्रमलाई स्थानीय समुदायले महत्त्वपूर्ण पहलका रूपमा लिएका छन्।