रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन

  • प्रकाशित मिति: शुक्रबार, माघ २ २०८२
  • तामाकोशी

रामेछाप  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।

निर्वाचन आयोगको कार्यक्रमअनुसार जिल्ला अदालतमा शुक्रवार कार्यालय उद्घाटन गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेले जानकारी दिए ।



मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेसँगै निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने उनले बताए । निर्वाचन कार्य तालिकाअनुसार माघ ६ गते बिहान १० बजेदेखि

बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने समय माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । उजुरी तथा मनोनयन पत्रमाथि जाँचबुझ गरी माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरिने निर्वाचन कार्य तालिका रहेको छ ।

२ नगरपालिका र ६ गाउँपालिका अन्तर्गत ६४ वडा रहेको रामेछापमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक रहेको छ ।

निर्वाचन अधिकृत लामिछानेका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यस पटक मतदाता सङ्ख्या ७ हजार ८४६ ले वृद्धि भएको छ । हाल जिल्लामा कुल मतदाता सङ्ख्या १ लाख ८७ हजार ९५२ पुगेको छ ।

मतदाता सङ्ख्या वृद्धि भएपछि मतदान केन्द्र दुई वटा थप गरिएको छ । अघिल्लो निर्वाचनमा २२६ रहेका मतदान केन्द्र यस पटक २२८ पुगेका छन् भने मतदान स्थल सङ्ख्या ९६ वटै कायम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा रामेछापमा चुनावी गतिविधि पनि क्रमशः बढ्दै गएको छ ।