रामेछाप । मन्थली नगरपालिकासँगको सहकार्यमा चाइल्डएड नेटवर्क फाउन्डेसनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा सञ्चालित ईसीडी हार्मोनी परियोजना अन्तर्गत नगरमा सञ्चालन भइरहेका कार्यक्रमहरूको अनुगमन गरिएको छ।
शुक्रवार मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा खटिएको अनुगमन टोलीले परियोजनामार्फत विभिन्न विद्यालयका ईसीडी कक्षामा सञ्चालित गतिविधिहरूको निरीक्षण गरेको हो। प्रारम्भिक बाल विकासमार्फत बालबालिकाको सर्वाङ्गीण विकास लक्ष्य पूरा भए–नभएको मूल्याङ्कन गर्न अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेल, मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, नगरको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णुबहादुर अधिकारी लगायत सहभागी थिए। टोलीले मन्थली नगरपालिका–६ बेतेनीस्थित तिल्के स्थान गढी माध्यमिक विद्यालय, मन्थली–७ भटौलीस्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तथा मन्थली–१ आकाशेमा रहेको सामुदायिक सिकाइ केन्द्रमा सञ्चालित कार्यक्रमहरूको स्थलगत अनुगमन निरीक्षण गरेको हो।
परियोजनामार्फत नगरका विभिन्न वडाका विद्यालयहरूमा सञ्चालन भइरहेका ईसीडी कक्षाका लागि कार्पेट, चकटी, कुर्सी, पिफर्म, किड बक्स, सिकाइ कुना ¥याक जस्ता भित्री सामग्री तथा पिङ, चिप्लेटी, क्लाइम्बर, चाकाचुली जस्ता बाहिरी खेल सामग्री उपलब्ध गराइएको छ। साथै अभिभावक शिक्षा, शिक्षक तालिम, विद्यालय घेरा बार निर्माणजस्ता कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
तिल्के स्थान गढी माध्यमिक विद्यालयकी ईसीडी शिक्षक लक्ष्मी तामाङले परियोजनाबाट प्राप्त सामग्री र प्राविधिक सहयोगले कक्षाकोठा व्यवस्थापन र सिकाइ प्रक्रियामा सहजता आएको बताइन्। नियमित कक्षा आउने बालबालिकामा सिकाई उपलब्धि सकारात्मक रहेको उनले बताइन । तर बालबालिकाको नियमित उपस्थिति गराउनु ठुलो चुनौती बनेको उनको भनाइ छ। ईसीडी कक्षामा १९ जना बालबालिका रहे पनि नियमित रूपमा आउनेको सङ्ख्या ७ जना मात्रै रहेको उनले जानकारी दिइन्।
नगरभित्र रहेका ६३ वटै विद्यालयमा चरणबद्ध रूपमा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको यस परियोजनाले पहिलो चरणमा यस वर्ष २६ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरेको नगरको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णुबहादुर अधिकारीले बताए।
परियोजनाअन्तर्गत नगरपालिकाका १४ वटै वडामा १० जना ईसीडी मेन्टर नियुक्त गरी निरन्तर प्राविधिक सहयोग प्रदान गरिँदै आएको मन्थली नगरपालिकाका बाल विकास संयोजक नवराज विश्वकर्माले जानकारी दिए। उनका अनुसार परियोजनाले नेपाल सरकार तथा राष्ट्रिय योजना आयोगद्वारा २०७७–२०८८ का लागि प्रकाशित प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति र २०७७ मङ्सिर २३ गतेको मन्त्रिपरिषद्को स्वीकृतिअनुसार सबै वडामा ईसीडी समिति गठन गरी काम गरिरहेको छ।
समितिमार्फत गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक तथा सामाजिक विकासका लागि आवश्यक सेवा सुनिश्चित गरिँदै आएको छ। स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा, खानेपानी तथा सरसफाइका सेवाहरूलाई परिवार र समुदायको सहभागितामा एकीकृत रूपमा प्रवाह गर्ने तथा अभिभावक र समुदायको जिम्मेवारी अभिवृद्धि गर्ने कार्यमा परियोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
