खाँडादेवी गाउँपालिकामा प्रशासकीय अधिकृत अभावले सेवा प्रभावित

  • प्रकाशित मिति: मंगलबार, पुष ८ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियमित नहुँदा नियमित सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित बनेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादनमा प्रमुख प्रशासकीय अधिकृत नियमित नहुनु र पटक–पटक सरुवा भइरहेकाले नियमित सेवा प्रवाह तथा विकास निर्माणका काममा ढिलाइ भएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जनाएका छन् ।

अध्यक्ष श्रेष्ठले मङ्गलवार फेसबुक मार्फत केन्द्रीय सरकार कर्मचारी खटाउने विषयमा पर्याप्त जबाफदेही नदेखिँदा पालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट काम सञ्चालन गर्नुपरेको अवस्था रहेको बताएका छन् ।



यद्यपि, यसले जनताको दैनिक सेवा प्रवाहमा खासै असर नपर्ने उनको दाबी छ।

अध्यक्ष श्रेष्ठले सामाजिक अगुवा तथा उपभोक्ता समितिमा संलग्न व्यक्तिहरूलाई समयमै काम सम्पन्न गरी समयमै भुक्तानी लिन आग्रह गरेका छन्। आर्थिक वर्षको अन्त्यतिर मात्रै निर्माण कार्य सम्पन्न भएमा भुक्तानी प्रक्रियामा समस्या आउन सक्ने भन्दै उनले समय व्यवस्थापनमा विशेष ध्यान दिन अनुरोध गरेका छन् ।

अध्यक्ष श्रेष्ठले व्यक्तिगत कामको सिलसिलामा पौष ८ गतेदेखि १५ गतेसम्म पालिकामा नियमित रूपमा उपस्थित हुन नसक्ने जानकारी दिँदै सो अवधिका लागि उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको समेत फेसबुकमा लेखेका छन् ।