रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ की १९ वर्षीया रश्मि श्रेष्ठ आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनप्रति अत्यन्त उत्साहित छिन्। पहिलो पटक मताधिकार प्रयोग गर्ने अवसर मिल्ने भएकाले उनी यसलाई जीवनभर सम्झन लायक क्षणका रूपमा लिन्छिन्।
रश्मिको उत्साह केवल पहिलो पटक भोट हाल्ने रहरमा मात्र सीमित छैन। योग्य, सक्षम र नयाँ सोच भएका युवा उम्मेदवारलाई जिताएर संसद्सम्म पु¥याउने उनको दृढ इच्छा छ। उनी भन्छिन्, “फागुन २१ गते हुने निर्वाचनका लागि निकै उत्साहित छु। पहिलो पटक भोट हाल्न पाउने भएकाले गर्व लागिरहेको छ। मेरो मत योग्य, सक्षम र युवा उम्मेदवारकै पक्षमा हुनेछ। तर अन्तिम निर्णय भने उम्मेदवारहरू कस्ता आउनेछन् भन्ने कुराले निर्धारण गर्छ।”
सुनापति गाउँपालिका–४ बेथानकी युवा निजुका खड्का पनि आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनप्रति अत्यन्त उत्साहित छिन्। नवयुवाहरूको आन्दोलनको ऊर्जा र दबाबबाट बनेको वर्तमान अन्तरिम सरकारले निर्धारित मितिमै निर्वाचन गराउने विश्वास उनी राख्छिन्। उनका अनुसार यो निर्वाचन देशलाई दीर्घकालीन निकास दिने महत्त्वपूर्ण अवसर पनि हो। निजुका भन्छिन्,“देशलाई निकास दिन यो निर्वाचन तोकिएकै समयमा हुनुपर्छ। निर्वाचनपछि देशले नयाँ नेतृत्व पाओस् भन्ने अपेक्षाका साथ हामी उत्साहित छौँ। निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन आवश्यक छ। युवाले यसलाई आफ्नै महान् चाडझैँ लिएर भोट हाल्नुपर्छ र योग्य, सक्षम तथा युवा प्रतिनिधि चयन गर्नुपर्छ।”
रश्मि र निजुकामा देखिएको जस्तै, रामेछापका युवामा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनप्रति उत्साह दिनानुदिन बढ्दो छ। यही उत्साहसँगै जिल्लाभर निर्वाचनको माहौल क्रमशः तातिँदै गएको छ। प्रतिनिधिसभा क्षेत्र नं.–१ रहेको रामेछापमा मतदाताहरू चुनावमा सक्रिय रूपमा रुचि देखाइरहेका छन्। गाउँघरका जमघट, चिया पसल, चौतारीदेखि हाटबजारसम्म अहिले मुख्य बहस नै निर्वाचन बनेको छ।
संसद्को पूर्ण कार्यकाल अझै बाँकी छ भन्दै प्रतिनिधिसभा पुनः स्थापनाको पक्षमा उभिएका दुई ठुला दल—नेपाली काँग्रेस र नेकपा एमाले—आन्तरिक तयारीमै जुटिरहेका छन्। नेकपा एमाले रामेछापका उप–सचिव मिलन कुमार घिसिङका अनुसार पार्टीले चुनावलाई स्वाभाविक प्रक्रियाका रूपमा स्विकारेर तयारी अघि बढाइरहेको छ।
घिसिङ भन्छन्,“अहिले निर्वाचनको सरगर्मी बढेकै छ। नेकपा एमाले कहिल्यै पनि निर्वाचनबाट भाग्दैन। वर्तमान सरकारले डर, त्रासमुक्त र निष्पक्ष वातावरणको ग्यारेन्टी गर्नुपर्छ। यस्तो वातावरण बनेमा एमाले हिजो पनि जनतामै थियो, आज पनि जनतामै छ। त्यसैले हामी आन्तरिक रूपमा निर्वाचनका लागि तयारी गरिरहेका छौँ।” उनका अनुसार एमाले संसद् पुनः स्थापनाको पक्षमा रहे पनि, पुनः स्थापना नभई प्रत्यक्ष निर्वाचनमा गए पनि पार्टी जनतामाझ जान तयार छ।
पछिल्लो समय संसद् पुनः स्थापनाको पक्षमा उभिएको नेपाली काँग्रेसले पनि रामेछापमा निर्वाचन तयारी गरिरहेको छ। पार्टी केन्द्रले अघि सारेका गतिविधिसँगै जिल्ला स्तरीय संरचनाले आफ्नो कामलाई समानान्तर रूपमा अघि बढाइरहेको नेपाली काँग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठ बताउँछन्। श्रेष्ठका अनुसार पार्टीभित्र आगामी निर्वाचनसम्बन्धी आन्तरिक बहस र प्रक्रियाहरू सुरु भइसकेका छन्। उनका शब्दमा,“पार्टी अधिवेशनसँगै आगामी निर्वाचनका लागि उम्मेदवार चयनबारे छलफल, बहस र परामर्श सुरु भएको छ। संसद् पुनः स्थापनाबारे अदालतले जे निर्णय गर्छ, काँग्रेस त्यसलाई मान्नेछ। तर, सोसँगै पार्टीले आगामी निर्वाचनका लागि आन्तरिक तयारी पनि समान रूपले अघि बढाइरहेको छ।”
दुई नगरपालिका र छ वटा गाउँपालिकासहित ६४ वडामा विभाजित रामेछाप जिल्लामा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीहरू चरणबद्ध रूपमा पूरा गर्दै मतदान व्यवस्थापनलाई सुव्यवस्थित बनाउन केन्द्रित रहेको जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार गत कात्तिक १७ गतेसम्म रामेछापमा कूल १ लाख ८१ हजार ६१४ मतदाता दर्ता भएका थिए।
त्यसपछि मंसिर ५ गतेसम्म थप करिब ६ हजार नयाँ मतदाता नामावलीमा सूचीकृत भएका छन्। यससँगै १८ वर्ष पुगेका नयाँ मतदाताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको कार्यालयले जनाएको छ। आगामी निर्वाचनका लागि जिल्लाभर ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले जानकारी दिए।