रैथाने बाली संकटमा

  • प्रकाशित मिति: शनिबार, मंसिर ६ २०८२
  • तामाकोशी

रामेछाप मन्थली नगरपालिका–७ स्थित ओडारे गाउँ कुनै समय जिल्लाकै राम्रो गहत उत्पादन हुने ठाउँ मानिन्थ्यो । यहाँको मुख्य पहिचान नै गहत उत्पादन थियो । हरेक परिवारले एउटा सिजनमा १० मुरीभन्दा बढी गहत उत्पादन गर्थे ।

गहतपछि मकै र मस्याङ प्रमुख बालीका रूपमा लगाइन्थ्यो । ओडारेमा फलेको गहत मन्थलीको सोमबारे हाट तथा रामेछाप नगरपालिकाको बिहीबारे हाटमा नियमित रूपमा बिक्री हुन्थ्यो।



यहाँका बुढापाकाको अनुसार एक मुरी गहत बेच्दा तीन मुरीभन्दा बढी धान किन्न सकिन्थ्यो, जसले उनीहरूको वर्षभरको खाद्यान्न जोहो हुन्थ्यो । गहत र मस्याङ बिक्रीबाट आम्दानी भई त्यस बेला जीवनयापन सहज थियो।

तर आज भने यो ओडारे गाउँको अवस्था पूर्ण रूपमा उल्टिएको छ । स्थानीय धनबहादुर माझी भन्छन्,“पहिला नफलेको वर्ष पनि १० मुरी गहत फल्थ्यो, अहिले १० माना पनि छैन ।”उत्पादन एकाएक घटेपछि गाउँभर गहत–मस्याङ जस्ता परम्परागत बाली लगाउने चलन हराउँदै गएको उनले बताए।

उनले भने,“सुख्खा ग्रस्त पाखो भिरालो जमिन भएकाले यो ठाउँको मुख्य बाली गहत, मस्याङ, तिल सहित मकै थियो । अहिले ती बाली पनि लगाउन छाडिसके । जसका कारण भएका बारीहरू पनि बाँझै छन् ।”

पछिल्लो वर्षहरूमा लगातार मौसमको असामान्य परिवर्तन र कामदार अभावका कारण फापर, तिते फापर, जुनेलो, सिलाम, गहत, तिल जस्ता रैथाने बाली पूर्ण रूपमा हराउँदै गएको अर्की स्थानीय हर्कमाया माझीले बताइन ।  उनले भनिन्,“पहिला मकै, मस्याङ, गहत नै यहाँका पहिचान थिए। अब ती बालीले अंकुराउन समेत छाडे।”

युवाहरू रोजगारीका लागि सहर तथा विदेशतिर लागेपछि कामदारको कमी, मौसमका कारण खेतीप्रति घट्दो चासोले गर्दा ओडारे मात्रै होइन, रामेछापका अधिकांश गाउँहरूमा रैथाने बाली लोपोन्मुख बन्न पुगेका छन्।

अहिले गाउँका बारीमा फापर, तिते फापर, जुनेलो, सिलाम, गहत र तिलजस्ता परम्परागत बालीहरू झन्डै हराउनै लागेको मन्थली नगरपालिका–९ पुरानागाउँकी धनमाया श्रेष्ठले बताइन्। उनको भनाइमा, दलहनमध्ये मस्याङ, मास, सेतो भटमास, गहते सिमी र जौजस्ता बाली त लोपोन्मुख अवस्थामा पुगेका छन्।

“पहिले मकै र कोदोपछिको मुख्य बाली नै गहत र मस्याङ थियो,” धनमाया सम्झिन्छिन्, “तर अब त गहत लगाउने परम्परा नै सकिन थाल्यो। धेर थोर लगाएको मस्याङ पनि राम्रो फल्दै–फुल्दै नफलेपछि लगाएको ज्यालासम्म उठ्दैन।”