रामेछाप–नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईले मन्थलीबाटै काठमाडौँ हल्लाउने कडा सन्देश दिएका छन्। उनले आगामी मङ्सिर ६ गते काठमाडौँमा हुने एमालेको शक्ति प्रदर्शनमार्फत संसद् विघटन, राजनीतिक सङ्कट र बाह्य शक्तिको हस्तक्षेपबारे ‘निर्णायक सन्देश’ जनतामा पु¥याइने बताए।
शनिवार मन्थलीमा आयोजित एमाले रामेछापको जनसभामा चौलागाईले हाल देशमा व्याप्त ‘राजनीतिक अन्योल र बाह्य षड्यन्त्र’ जनतामाथि थोपर्न खोजिएको उल्लेख गर्दै एमाले सडकबाटै समाधानतर्फ अघि बढ्ने दाबी गरे।
“जेनजी आन्दोलनको नाममा सरकार, संसद् र संविधानमाथि गरिएको खेल इतिहासकै बदनाम अध्याय हो,” उनले भने, “अब जनतालाई उठाएर यो सङ्कटको मूल मात्रै काटिन्छ।”
एमाले केन्द्रीय सदस्य गीता कार्कीले प्रतिगमन रोक्न र संविधान जोगाउन एमाले सडकमा उत्रिएको बताइन्। “बलिदान र त्यागले बनेको संविधानलाई कागजको खोस्टा बनाउने षड्यन्त्र सुरु भएको छ, अब हामी मौन बस्दैनौँ,” उनले जोड दिँदै भनिन्।
त्यसै गरी, एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुंगेलले विघटन गरिएको संसद् जुनसुकै अवस्थामा पनि पुनः स्थापना गराएरै छाड्ने दाबी गरे। “संसद फर्काएर केपी शर्मा ओलीलाई सात दिन वा एक महिनाका लागि भए पनि फेरि प्रधानमन्त्री बनाउनुपर्ने बेला आएको छ,” उनले स्पष्ट शब्दमा भने।
उनले मङ्सिर ६ मा काठमाडौँमा हुने प्रदर्शनलाई ‘ऐतिहासिक’ बनाउन कार्यकर्ता–जनसमुदायलाई आह्वान गरे।
बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले वर्तमान सरकार भूराजनीतिक खेल र प्रतिगामी सन्त्रासको उपज भएको आरोप लगाए। “राज्यको सुशासन, लोकतन्त्रको रक्षा र नागरिकको समृद्धिका लागि एमाले सडकमै होमिएको हो,” उनले भने।
एमाले रामेछाप अध्यक्ष पुरुषोत्तम कडरियाले विघटन गरिएको संसद पुनः स्थापनालाई नै पार्टीको प्रमुख एजेन्डा बताउँदै रामेछापदेखि काठमाडौँसम्म दबाबका कार्यक्रम जारी रहने बताए। मन्थली क्याम्पस स्ववियु सभापति सुशील थापाले जिल्लामा जेनजी आन्दोलन ‘सन्तुलित’ रूपमा रहनुको कारण आफूहरूले जिम्मेवारीपूर्वक आन्दोलन नेतृत्व गरेको बताउँदै “रामेछापमा आगजनी–तोडफोड हुन नदिन हामी अग्रपङ्क्तिमा थियौँ” दाबी गरे।