उमाकुण्डमा मङ्सिर २ देखि ८ गतेसम्म सातै वडामा एकीकृत घुम्ती शिविर हुने

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २७ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले नागरिकलाई सेवा सहज र सुलभ बनाउने उद्देश्यले मङ्सिर २ गतेदेखि ८ गतेसम्म गाउँपालिकाका सबै सात वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

गाउँ कार्यपालिकाको यही कार्तिक २५ गतेको निर्णयअनुसार सञ्चालन हुने शिविरमार्फत गाउँपालिकाका बासिन्दाले आवश्यक सेवा आफ्नै वडामा पुगेर लिन सक्नेछन्।
गाउँपालिकाले घरदैलोमै सेवा प्रवाह गर्ने अवधारणाअन्तर्गत आयोजना गरेको यस शिविरमा नागरिकता, राष्ट्रिय परिचयपत्र,जन्म, मृत्यु, विवाह दर्ता, सामाजिक सुरक्षा, स्वास्थ्य परामर्श, कृषि, पशुपन्छी, व्यावसायिक सीप, कानुनी सल्लाह, महिला तथा बालबालिका सम्बन्धी जानकारी लगायतका सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।



शिविर मङ्सिर २ गते मङ्गलवार उमाकुण्ड–१ गुम्देलबाट सुरु भई मङ्सिर ८ गते सोमबार उमाकुण्ड–७ भुजीमा सम्पन्न हुनेछ। यस अवधिभर क्रमशः बाम्ती भण्डार, कुबुकास्थली, प्रीति, गाउँपालिका केन्द्र, गुप्तेश्वर लगायतका वडामा पनि सेवा पुर्याइनेछ।

यो पहलले नागरिकले स–साना कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्था अन्त्य हुने र गाउँपालिकाको सेवा जनताकै घरदैलोमा पुगोस् भन्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । उनले सबै वडाका बासिन्दालाई तोकिएको मिति र स्थानमा उपस्थित भई सेवा लिन आग्रह पनि गरे।