स्थायी लेखा नम्बर अब स्थानीय तहबाटै, देशभरका ३८ करदाता सेवा कार्यालय खारेज

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २० २०८२
  • तामाकोशी

रामेछाप । अब स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले जारी गरेको विज्ञप्तिअनुसार प्यान कार्डसहित कर सम्बन्धी सेवा स्थानीय तहमार्फत उपलब्ध गराइने व्यवस्था मिलाइएको हो ।

यससँगै रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित करदाता सेवा कार्यालय मन्थली पनि खारेज हुने भएको छ । उक्त कार्यालयबाट प्रदान हुँदै आएका प्यान कार्ड, कर चुक्ता प्रमाणपत्र, कर भुक्तानी लगायतका सेवा अब क्रमशः पालिका तहबाटै सञ्चालन गरिने विभागले जनाएको छ ।



विभागका अनुसार, स्थानीय तहबाट सेवा सुरु गर्न केही समय लाग्न सक्ने भएकाले तत्कालका लागि ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट नै उपलब्ध हुनेछन् । त्यस्तै, कर भुक्तानी र चुक्ता प्रमाणपत्रजस्ता सेवा अनलाइन प्रणालीमार्फत पनि प्राप्त गर्न सकिनेछ । हाल देशभर रहेका ३८ वटा करदाता सेवा कार्यालयहरू सरकारले खारेज गर्ने निर्णय गरेको हो । यससँगै कर सेवाको पहुँच सिधै स्थानीय तहसम्म विस्तार हुने अपेक्षा गरिएको छ ।