अब हरेक हप्ताको शुक्रवार रामेछाप–काठमाडौँ उडान

  • प्रकाशित मिति: बिहिबार, कार्तिक १३ २०८२
  • तामाकोशी

रामेछाप । अब प्रत्येक शुक्रवार रामेछाप–काठमाडौँ–रामेछाप नियमित हवाई उडान हुने भएको छ । शान्ति दीप युवा क्लब मन्थली, रामेछापका अध्यक्ष सुरेश उदासको संयोजकत्वमा बिहीबार नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि र रामेछाप–काठमाडौँ हवाई सेवा सञ्चालन गर्ने विमान कम्पनीका प्रतिनिधिहरूबिच बसेको बैठकमा यस्तो निर्णय भएको हो ।

बैठकले कार्तिक १४ गतेदेखि प्रत्येक शुक्रवार रामेछाप–काठमाडौँ–रामेछाप नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ। सो निर्णयअनुसार सीता एयर, तारा एयर र समिट एयर ले पालैपालो हप्ताको एक दिन (शुक्रवार) सेवा सञ्चालन गर्नेछन्।



रामेछाप विमानस्थलबाट यसअघि हप्ताको तीन दिनसम्म हवाई सेवा दिइँदै आएको भए पनि अहिले चाडपर्व सकिएको र सडक यात्रा सहज बन्दै गएपछि यात्रुको चाप घटेको कारण हप्तामा एक दिन मात्रै उडान सञ्चालन गर्ने सहमति भएको शान्ति दीप युवा क्लबका अध्यक्ष उदासले बताए ।
उनका अनुसार हालको अवस्था र यात्रुको आवश्यकतालाई ध्यानमा राख्दै हप्ताको एक दिन नियमित सेवा सञ्चालन गर्ने निर्णय भएको छ। निर्णय अनुसार कार्तिक १४ गते (शुक्रवार) सीता एयर, कार्तिक २१ गते (शुक्रवार) तारा एयर र कार्तिक २८ गते (शुक्रवार) समिट एयरले रामेछाप–काठमाडौँ उडान गर्नेछन् । यो तालिका प्रत्येक महिनाको पहिलो हप्तादेखि क्रमशः लागू हुने बैठकमा निर्णय भएको छ ।