रामेछाप । जेन–जी आन्दोलनका क्रममा घाइते भएका रामेछापका १४ जनालाई परिचयपत्र वितरण गरिने भएको छ। यसका लागि गृह मन्त्रालयबाट घाइतेहरूको नामावलीसहितको विवरण जिल्ला प्रशासन कार्यालय रामेछापमा प्राप्त भएको प्रशासनका प्रशासकीय अधिकृत प्रकाश प्रधानले मंगलबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
सूचनाअनुसार काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार गराएका घाइतेहरूको विवरणमा सिभिल अस्पतालमा उपचार गराएका ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, काठमाडौँ मोडल अस्पतालमा एक जना, कृतिपुर अस्पतालमा एक जना, मेट्रो अस्पताल काठमाडौँमा एक जना र मेट्रो अस्पताल पोखरामा उपचार गराएका एक जना रहेका छन्।
घाइतेहरूले उपचारसम्बन्धी अस्पतालका कागजात, नागरिकताको प्रमाणपत्र, सम्बन्धित वडाको सिफारिसलगायतका आवश्यक कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। परिचयपत्र वितरणपछि गृह मन्त्रालयबाट प्राप्त राहत रकमसमेत वितरण गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ।
