रामेछाप । रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) भोलाप्रसाद भट्टले जिल्लामा तिहार लक्षित विशेष सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताएका छन् ।
सोमबार रेडियो इनर्जी १०६.२ मेगाहर्जसँगको विशेष कुराकानीमा उनले चोरी, जुवा, मदिरा दुरुपयोग र सवारी दुर्घटना जस्ता घटनाहरू रोक्न प्रहरी सतर्क रहेको बताए ।
उनका अनुसार तिहारमा सम्भावित अपराध नियन्त्रण गर्न मोबाइल गस्ती र मोटरसाइकल गस्ती सशक्त रूपमा परिचालन गरिएको छ । बजार क्षेत्र, यात्रुहरूका भिडभाड हुने स्थान र रात्रि समयमा सुरक्षालाई प्राथमिकता दिइएको उनले बताए ।
डिएसपी भट्टका अनुसार पटका, हुइचम्पा, अतीसबाजी जस्ता विस्फोटक पदार्थहरूको नियन्त्रणका लागि जिल्लाका नाका नाकामा कडा चेकजाँच सुरु गरिएको छ । साथै, देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम राति १० बजेपछि सञ्चालन नगर्न आग्रह गर्दै उनले मर्यादित र सुरक्षित वातावरणमा तिहार मनाउन सबैलाई अनुरोध गरे ।
भट्टले भने, “सुरक्षा व्यवस्था पूर्ण रूपमा बलियो बनाइएको छ, नागरिकले निडर भएर तर मर्यादित रूपमा पर्व मनाउन सक्ने वातावरण तयार छ ।”
