निर्वाचन कार्यालय रामेछापमा नयाँ मतदाताको चहलपहल

  • प्रकाशित मिति: आइतबार, असोज २६ २०८२
  • नवराज श्रेष्ठ

रामेछाप । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोक्नुभएको छ । सो निर्णयसँगै प्रधानमन्त्री सुशीला काकी नेतृत्वको अन्तरिम सरकार तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न तयारीमा जुटेको छ । निर्वाचन आयोगले निर्धारित मिति अनुसार निर्वाचन गराउने उद्देश्यले असोज ९ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको छ । राष्ट्रपति पौडेलले अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ संशोधन गरेपछि आयोगले कात्तिक ३० गतेसम्म नाम सङ्कलन गर्ने निर्णय गरेको हो ।

यससँगै रामेछापमा पनि १६ वर्ष पूरा गरेका नयाँ मतदाताहरूको चहलपहल बढ्न थालेको छ । मतदाता सूचीमा नाम समावेश गराउने उत्साहले जिल्ला निर्वाचन कार्यालयमा दैनिक चहलपहल बढेको छ ।



जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार, असोज ९ गतेदेखि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता भइरहेको छ । अहिले दैनिक ४० देखि ५० जना नयाँ मतदाताहरू नाम दर्ता गराइरहेका छन् ।

लामिछानेका भनाइमा, यस वर्ष रामेछापमा जेन-जी युवा पुस्ताको विशेष रुचि र सहभागिता उल्लेखनीय रूपमा बढेको छ । गएका निर्वाचनहरूमा भन्दा यो पटक युवा मतदाताको उत्साह र क्रेज धेरै देखिएको उनले बताए ।

उनका अनुसार देशभरका निर्वाचन कार्यालयमार्फत नाम दर्ता गर्न सकिने भएकाले रामेछापमा अत्यधिक भीड देखिए पनि प्रक्रिया सहज रूपमा अघि बढिरहेको छ । निर्वाचन आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न अनुमति दिएको छ । तर मतदानको अधिकार भने १८ वर्ष पुगेपछि मात्र प्रयोग गर्न सकिनेछ । तोकिएको मितिअनुसार जिल्लामा नाम दर्ता गर्न आउनेहरूको भीड बाक्लिँदै गएको छ । तर नागरिकतर्फ चासो बढ्दै जाँदा पनि जिल्लास्थित राजनीतिक दलहरूलाई भने आगामी निर्वाचनले छुन सकेको छैन । निर्वाचन नजिकिँदै जाँदा पनि दलहरूको गतिविधि र राजनीतिक सरगर्मी शून्य जस्तै छ ।