दसैँमय मन्थली : जिल्लाको तीन स्थानमा प्रहरीको यात्रु सहायता कक्ष

  • प्रकाशित मिति: मंगलबार, असोज ७ २०८२
  • तामाकोशी

रामेछाप नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै सुस्ताएको मन्थली बजार यति बेला चहलपहल भएको छ। केही दिनअघिसम्म सुनसान देखिएका सदरमुकाम मन्थली अहिले बिहानैदेखि बेलुकासम्म भीडले भरिएका छन्। दसैँले छोपेसँगै सदरमुकाम मन्थली उत्सवको रौनकले चम्किएको छ। बजार, पसल, सडक र बैङ्क सबै ठाउँमा भिडभाड बढेपछि यहाँको दैनिक जीवन नै पर्वमय बनेको छ।

दसैँका लागि आवश्यक खाद्यान्न, भाँडाकुँडा, जुत्ता–चप्पलदेखि नयाँ कपडासम्म किन्न मन्थली बजार धाउने ग्राहकले व्यापारीलाई समेत फुर्सद नहुने अवस्था छ। मन्थली बजारमा रहेको कस्मेटिक पसल र फलफूल पसलहरूमा पनि ग्राहकको भिड देखिन्छ । पसल धनीहरू बिहानैदेखि बेलुकासम्म ग्राहकमुखी बनेका छन्।



“दसैँ नजिकिँदै गर्दा बजारमा व्यापार व्यवसाय ह्वात्तै बढेको छ। अहिले त पसलमा ग्राहक सम्हाल्नै हम्मे पर्छ,” मन्थलीका व्यवसायी राजु थापा बताउँछन्। उनका अनुसार, तीन दिनअघि सम्म बजार सुनसानजस्तै थियो। तर, दसैँ नजिकिएसँगै ग्राहकको भीड दिनदिनै बढ्दै गएको छ। “अहिले बजारमा व्यापार फस्टाउँदै गएको छ, यसले व्यापारीलाई पनि उत्साह दिएको छ,” थापाले भने।

मन्थलीका केवल पसल मात्र नभई बैङ्कहरूमा पनि यति बेला भिड हुने गरेको छ। सामाजिक सुरक्षा भत्ता निकाल्न मन्थली झरेका वृद्ध वृद्धा बिहान सबेरैदेखि लाइनमा उभिन्छन्।

मन्थलीमा रहेका ११ भन्दा बढी बैङ्क शाखामध्ये राष्ट्रिय वाणिज्य बैङ्कमा सबैभन्दा बढी भीड देखिन्छ। दसैँका खर्च धान्न थोरै भए पनि पैसाको जोहो गर्नुपर्ने बाध्यता हुन्छ। यही कारण सामाजिक सुरक्षा भत्ता निकाल्न मन्थली आएकी मन्थली नगरपालिका–९ पुरानागाउँकी ७९ वर्षीया धनमाया श्रेष्ठ भन्छिन्, “दसैँमा धेरथोर सबैलाई पैसा चाहिन्छ, त्यसैले अहिले सबै मन्थली झरेका छन्। यही कारण बैङ्कहरूमा बिहानैदेखि ठुलो भीड लाग्छ।”

यति बेला राजधानी काठमाडौँलगायतका सहरमा शिक्षा र रोजगारीका लागि बस्नेहरू पनि गाउँ फर्किन थालेका छन्। घर फर्कने लहर बढेसँगै बजार मात्र होइन, गाउँतिरका यातायात साधनमा समेत यात्रुहरूको भीड बाक्लिएको छ। बसपार्कदेखि सडकसम्म यात्रु चाप बढेपछि लामो दूरीका सवारी साधन पूर्ण क्षमतामा गुडिरहेका छन्।

दसैँका बेला यात्रुलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालय रामेछापले ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरेको छ। भिडभाडका कारण यात्रु विभिन्न समस्यामा पर्न सक्ने भएकाले सहयोगका लागि जिल्लाका तीन ठाउँमा कक्ष स्थापना गरेको प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।

“दसैँमा कतै बढी भाडा लिने, कतै सामान हराउने, कतै यात्रु छुट्ने जस्ता समस्या देखिन्छन्। त्यस्ता अवस्थामा सहज सहयोग पु¥याउन हामीले सहायता कक्षको व्यवस्था गरेका हौँ,” उनले बताए। उनका अनुसार मन्थली नगरपालिका–६ सेलेघाट, मन्थली बजार र लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।