रामेछाप । पर्यटन व्यावसायिक सहकारी संस्था लिमिटेड, रामेछापले आफ्नै भवनबाट सेवा सुचारु गरेको छ । यसअघि खाँडादेवी गाउँपालिका–६ बुढाथोकी डाँडामा रहेको भाडाको भवनबाट सेवा दिँदै आएको सहकारीले सोमबारदेखि गाउँपालिकाको कार्यालय नजिकै आफ्नै भवनमा स्थानान्तरण भई सेवा प्रारम्भ गरेको हो ।
सोमबार एक विशेष समारोहका बिच सहकारीका अध्यक्ष नरबहादुर बुढाथोकीले औपचारिक रूपमा सहकारीको भवनबाट सेवा उद्घाटन गरे । सहकारीका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार २०६७ साउन १० गते ३१ जनाबाट स्थापना भएको सहकारीमा हाल ५ हजार शेयर सदस्य रहेका छन् । बचत तथा ऋण लगानीसँगै यसले ढुवानी सेवा, होम स्टे, खाद्यान्न उद्योग र सहकारी पसलसमेत सञ्चालन गर्दै आएको छ । “एकता, सहकार्य, निरन्तरता र धैर्यता, सामाजिक–सांस्कृतिक रूपान्तरण तथा आर्थिक समृद्धिमा हाम्रो अग्रसरता” भन्ने नाराका साथ सहकारीले सेवा प्रवाह गरिरहेको छ ।
