काभ्रेपलान्चोक । यस वर्षको मनसुन सुरु भएयता जोखिमका कारण रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग आज (बुधबार)देखि २४ घण्टा सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन सकिन लागेको र दसैँ–तिहारजस्ता चाडपर्व नजिकिएकाले सडक सञ्चालन सहज बनाउन निर्णय गरेको हो ।
यात्रुहरूलाई सुरक्षित र सहज आवागमनको सुविधा दिन स्वीकृत सडक सुरक्षा कार्य योजनाअनुसार आवश्यक सतर्कता अपनाइने समितिले जनाएको छ ।
कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार गत असार पहिलो सातादेखि राजमार्गको धुलिखेलदेखि सिन्धुलीको सिमाना नेपाल थोकसम्म रातिको समयमा १२ घण्टासम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको थियो ।
बाढी–पहिरोको उच्च जोखिमका कारण रोक निरन्तर गरिएकोमा पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन रातिको सवारी बन्द गरिएको थियो । तर, मनसुन अन्त्यतिर पुगेपछि आजदेखि राजमार्गमा दिनरात सवारी सञ्चालन खुला गरिएको हो ।