रामेछाप । श्री चण्डेश्वरी माध्यमिक विद्यालय, उमाकुण्ड गाउँपालिका–४ प्रीति मा “सिक्दै कमाउँदै, कमाउँदै सिक्दै” कार्यक्रम अन्तर्गत विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै जीवनोपयोगी सीपमा जोड्ने कार्य सुरु गरिएको छ ।
विद्यालयले चण्डेश्वरी सामुदायिक सिकाई केन्द्रसँगको संयुक्त प्रयासमा खोर्सानी र टमाटर खेती सुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक रुद्र जेस्पुचाले विद्यार्थीलाई कक्षाकोठाको पढाइसँगै आत्मनिर्भर बनाउन व्यावहारिक सीप सिकाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।
“विद्यार्थीले सिक्दै कमाउने र कमाउँदै सिक्ने अवसर पाएका छन्, यसले उनीहरूको भविष्यलाई सशक्त बनाउन ठुलो योगदान पु¥याउनेछ,” उनले भने ।
यो कार्यक्रम हाल उमाकुण्ड–१ को महालङ्गुर माध्यमिक विद्यालय, उमाकुण्ड–२ को शिद्देश्वर माध्यमिक विद्यालय, उमाकुण्ड–४ को चण्डेश्वरी माध्यमिक विद्यालय र उमाकुण्ड–६ को कैलेश्वर माध्यमिक विद्यालयमा लागू भइसकेको छ । स्थानीय अभिभावक र समुदायले विद्यार्थीले सिकेको सीपले घरपरिवार र गाउँमा समेत प्रत्यक्ष योगदान दिने विश्वास व्यक्त गरेका छन् ।