रामेछाप । रामेछाप जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आदेश लागू गरेका हुन्।
जारी निषेधाज्ञा अनुसार शनिवार साँझ ६ बजेसम्म जिल्लाभर पाँच जनाभन्दा बढी भेला भएर कोणसभा, प्रदर्शन, जुलुस वा हुलदङ्गा गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी थापाले शान्ति–सुरक्षा र जनताको सुरक्षालाई सर्वोपरि ठहर गर्दै सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेका छन्।
यसअघि शुक्रवार राति ७ बजेदेखि शनिवार बिहान ६ बजेसम्म कर्फ्यु जारी गरिएको थियो।
उक्त अवधिमा मन्थली नगरपालिका–२ को आकासे पुलदेखि रामेछाप नगरपालिका र मन्थलीबिचको सुकाजोर खोला पुलसम्म, मन्थली–खुर्कोट सडक खण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानी मदौ CTEVT सम्म, मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्र तथा रामेछाप नगरपालिका–८ भंगेरीदेखि गौरीशङ्कर मावि र रामेछाप अस्पताल क्षेत्रसम्म आवतजावत, भेला, जुलुस र हुलदङ्गा पूर्ण रूपमा निषेध गरिएको थियो।
