रामेछाप । रामेछाप जिल्लामा लगाइएको कर्फ्यु हटाएर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार २०८२ भदौ २४ गते राति १० बजेदेखि २५ गते बुधवार दिउँसो १२ बजेसम्म लागू गरिएको कर्फ्यु आदेशलाई परिस्थितिअनुसार संशोधन गर्दै बुधवार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।
निषेधाज्ञा अनुसार पाँच जना भन्दा बढी भेला भई प्रदर्शन, जुलुस, हुलदङ्गा, घेराउ वा विरोधका कार्यक्रम गर्न पाइने छैन। आदेश उल्लङ्घन गर्नेहरूमाथि विद्यमान कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।
निषेधाज्ञा मन्थली नगरपालिका–२ को आकासे पुलदेखि दक्षिणतर्फ सुकाजोर खोला पुलसम्म, मन्थली–खुर्कोट सडक खण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ CTEVT सम्म, मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्र, रामेछाप नगरपालिका–८ भंगेरीदेखि गौरीशङ्कर मावि र रामेछाप अस्पताल आसपास लागू हुने जनाइएको छ। यस्तै, जिल्लाभित्रका सबै पालिका र वडा कार्यालय क्षेत्रलाई पनि निषेधाज्ञा क्षेत्र घोषणा गरिएको छ।
