रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन अभियान जारी रहेको छ।
जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय, सहकार्य तथा सहभागितामा गत मंगलबारदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म १९५ थान राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ भने ३६८ जनाको विवरण संकलन गरिएको गाउँपालिकाले जनाएको छ।
यस क्रममा वडा नं १ मा २८ जनाको विवरण संकलन हुँदा २६ वटा परिचयपत्र वितरण भएको छ।
वडा नं २ मा ७० जनाको विवरण संकलन गरिँदा ३५ वटा कार्ड वितरण भएको छ। वडा नं ३ मा ५३ जनाको विवरण संकलन हुँदा ७ वटा मात्र कार्ड वितरण गरिएको छ भने वडा नं ४ मा १०३ जनाको विवरण संकलन भई ४६ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।
त्यस्तै वडा नं ५ मा ४२ जनाको विवरण संकलन हुँदा २३ वटा कार्ड वितरण भएको छ। वडा नं ६ मा १८ जनाको विवरण संकलन भई २९ वटा कार्ड वितरण भएको छ भने वडा नं ७ मा ५४ जनाको विवरण संकलन गर्दा २९ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार छुटफुट भएकाहरुलाई लक्षित गर्दै यही बुधबार पनि राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा कार्ड वितरण कार्यक्रम सञ्चालन गरिने छ।