रामेछाप । राजधानी काठमाडौँमा सोमबार भएको आन्दोलनमा सरकारले गरेको दमनका कारण १९ भन्दा बढी विद्यार्थीको ज्यान गएको दाबी गर्दै रामेछापमा पनि जेनजीहरुले मङ्गलवार बिहानदेखि प्रदर्शन गरेका छन्।
सदरमुकाम मन्थलीमा करिब साढे १० बजेबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले बर्बर दमनको कडा निन्दा गर्दै त्यसको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका छन्। साथै, आन्दोलनलाई हिंसात्मक बनाउन खोज्ने जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन्। शान्तिपूर्ण आन्दोलनमा कुनै अवरोध वा दमन नगर्न स्थानीय प्रहरी प्रशासनलाई आग्रह गर्दै प्रदर्शनकारीहरूले सरकारविरुद्ध तीव्र नाराबाजी गरेका छन्।
स्थानीय प्रशासनले प्रदर्शनलाई मध्यनजर गर्दै मन्थलीमा सुरक्षा व्यवस्था कडा गरेको छ। सम्भावित अवाञ्छित गतिविधि रोक्न आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।
