किसानको नयाँ कदम: परम्परागत खेतीबाट नगदे बालीतर्फ

  • प्रकाशित मिति: बिहिबार, भाद्र १९ २०८२
  • नवराज श्रेष्ठ

रामेछाप  ।  बिहान सबेरै पसल खोलेर डेरी व्यवसायको कामको व्यस्तताबाट खाँडादेवी गाउँपालिका–५ पकरबासका ४० वर्षीय किशोर पौडेलको दिन सुरु हुन्छ। तर विगत केही वर्षदेखि उनी बाँझो परेको आफ्नो बारीमा अकबरे खुर्सानी खेती गर्दै आएका छन्। सदरमुकाम मन्थलीमा १० वर्षदेखि डेरी व्यवसायमै व्यस्त पौडेलले अहिले गाउँको बारीलाई अकबरे खुर्सानीले सजाएका छन्।



“परम्परागत खेतीले लगानी पनि नउठ्ने भएपछि गाउँका खेतबारी बाँझै बसिरहेका थिए,” उनी भन्छन्, “तर मर्चिङ प्रविधिमा अकबरे खुर्सानी राम्रो फल्छ, बजार पनि छ। त्यसैले डेरीसँगै यो खेती सुरु गरेको हुँ।”

पौडेलको साढे दुई रोपनी जमिनमा फैलिएको अकबरे खेती अहिले गाउँकै आकर्षण बनेको छ। खेती विस्तार गर्न सकिए पकरबास नै अकबरे खुर्सानीको हब बन्न सक्छ भन्ने उनको विश्वास छ ।

मन्थली नगरपालिका–५ का ३५ वर्षीय भरत कार्कीको कथा पनि फरक छैन। उनका २० रोपनी जमिनमा हरियो कागतीका बोट लहरिएका छन्। धान, मकैजस्ता बाली लगाउँदा उत्पादन कम हुने र बाँदरलगायत वन्यजन्तुले बाली नष्ट गर्ने समस्या बढेपछि उनले कागती खेती रोजेका हुन्।

“हाम्रो ठाउँ सुख्खा ग्रस्त छ। मकै, कोदो उब्जाउन गाह्रो हुन्छ। बाँदरले अझै पाखा लगाउँछ,” कार्की सम्झिन्छन्, “तर कागतीलाई कुनै वन्यजन्तुले छोएन। त्यसैले यो रोजेको हुँ।” २०७८ सालदेखि सुरु गरेको कागती खेती अहिले एक हजारभन्दा बढी बोटमा फैलिएको छ। फलेका कागती रामेछापकै बजारमा मात्र होइन, काठमाडौँसम्म पुर्‍याउन थालिएको उनले बताए ।

उमेरले ६५ काटेका मन्थली नगरपालिका–५ कै रामबहादुर शाहीले करिब तीन दशक काठमाडौँमा नर्सरी र पुष्प खेतीमा बिताए। तर केही वर्षअघि उनी गाउँ फर्किए। गाउँ फर्किएपछि पनि उनले हात खाली राखेनन्। शाहीले आफ्नो बारीमा ड्रायगन, आँप, मेवा, अम्बा, कागती र बोधिचित्तासम्म लगाएका छन्।

दुई वर्षअघि सुरु गरेको ड्रायगन खेतीले यस वर्ष मात्रै करिब ६ लाख रुपैयाँ आम्दानी दिने अनुमान छ। अहिलेसम्म २ लाख रुपैयाँको ड्रायगन बिक्री भइसकेको उनले बताए। “गाउँ फर्किएपछि लगानी पनि उठ्ने, आम्दानी पनि हुने खेती रोजेँ,” शाही भन्छन्, “अब त यहाँ बसेरै जीवन चलाउन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ।”

यी उदाहरण रामेछापका दर्जनौँ किसानको प्रतिनिधि मात्र हुन्। धान, मकै, कोदोमा वर्ष दिन पसिना बगाएर पनि खर्च धान्न नसकेपछि गाउँमा रहेका धेरै किसान अहिले नगदे बालीतर्फ मोडिन थालेका छन्। आम्दानी बढी हुने र बजार सजिलो भएकै कारण किसानहरू अमिलो जातका फलफूल जुनार, सुन्तला, ड्रायगन, कागती र तरकारी खेतीमा बढी आकर्षित भएका छन् ।

मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठ भन्छन्“तरकारी, फलफूल र नगदे बाली तुरुन्तै बजारमा बिक्री हुन्छ। यसले किसानलाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ।” उनका अनुसार नगदे खेतीसँगै गाउँमा रोजगारी सिर्जना भएको छ, आम्दानी बढेको छ, र जीवनस्तरमा परिवर्तन आएको छ