रामेछाप । यस वर्षको हरितालिका तीज पर्वमा रामेछापका विभिन्न शिव मन्दिरहरूमा व्रतालु महिलाहरूको ठुलो भीड देखिएको छ । मङ्गलवार बिहानैदेखि सदरमुकाम मन्थली बजार लगायत जिल्लाभरका मन्दिरहरूमा तीजको रौनक छाएको हो ।
मन्थली नगरपालिका–९ पुरानागाउँ, बाहुनचुरामा रहेको ऐतिहासिक थानापति महादेव मन्दिरमा यसपालि विशेष मेला लागेको छ । थानापति विकास समितिका अध्यक्ष राजकुमार बोहराका अनुसार काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि भक्तजनको आस्थाको केन्द्रका रूपमा यो मन्दिरलाई मानिन्छ । राजधानी काठमाडौँसहित छिमेकी जिल्लाबाट समेत हजारौँ भक्तजन दर्शनका लागि आएको उनले बताए ।
“सडक सञ्जालको पहुँच बढेसँगै अहिले दैनिक रूपमा नै मन्दिर पुग्नेहरूको सङ्ख्या बढेको छ, विशेष गरी हरितालिका तिज, महाशिवरात्रि र ठुलो एकादशीमा भक्तजनको घुइँचो लाग्ने गरेको छ,” बोहराले बताए । मन्दिरसम्म पुग्न घेरा बारसहित आकर्षक सिँढी निर्माण गरिएको छ । जनविश्वासअनुसार थानापति महादेवलाई ठुलो स्वरमा वर माग्दा मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।
यस्तै, सदरमुकाम मन्थलीस्थित जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेको शिव मन्दिर र बिच बजारस्थित शिव मन्दिरमा पनि मङ्गलवार बिहानैदेखि व्रतालुहरूको भीड लागेको थियो । मन्थलीको देवकोटा चोक, बिच बजारलगायत स्थानमा महिलाहरूले तीजका गीतमा नाचगान गरेर पर्वको उल्लास बढाएका थिए ।
त्यसै गरी, खाँडादेवी गाउँपालिका–४ त्रिवेणीस्थित नरेश्वर महादेव मन्दिरमा पनि तिजको दिन ठुलो सङ्ख्यामा भक्तजन पुगेका थिए । सुनकोसी र तामाकोसी नदीको दोभानमाथि अवस्थित यस मन्दिरलाई ऐतिहासिक र धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ । मन्थली नगरपालिका–५ सुनारपानी स्थित थानापति बुढामहादेव स्थान सहित जिल्लाका आठ वटै पालिकाको विभिन्न स्थानमा रहेका शिव मन्दिरहरूमा यस वर्षको तिजमा व्रतालु महिलाहरूको उपस्थिति उल्लेखनीय रहेको छ ।
