रामेछापको चनखुमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

  • प्रकाशित मिति: शनिबार, भाद्र ७ २०८२
  • तामाकोशी

रामेछाप । पशु स्वास्थ्य सेवा प्रवद्र्धन र किसानलाई सहयोग गर्ने उद्देश्यले रामेछापको मन्थली नगरपालिका–१०, चनखुमा एक दिने निःशुल्क पशु स्वास्थ्य तथा परजीवि नियन्त्रण शिविर सम्पन्न भएको छ ।

नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन जिल्ला कार्य समिति, रामेछापको आयोजनामा शनिवार भएको शिविरमा १८० किसानका गाई, भैंसी, बाख्रा लगायतका पशुको स्वास्थ्य परीक्षण र परजीवि नियन्त्रण उपचार गरिएको थियो ।



नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन जिल्ला कार्य समिति, रामेछापका सहसचिव सुमन गिरीका अनुसार शिविरमा ५सय ३० भन्दा बढी पशु–वस्तुलाई उपचार तथा औषधि सेवा उपलब्ध गराइएको छ । साथै, स्थानीयका ८५ भन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।

शिविरमा मन्थली नगरपालिकाको कार्यालय, पशु सेवा कार्यालय सिन्धुली, वडा कार्यालय चनखु लगायतका संस्थाको सहकार्य रहेको थियो । आयोजकले किसानलाई समय–समयमा पशु स्वास्थ्य जाँच गराउन र परजीवि नियन्त्रणमार्फत उत्पादन वृद्धि गर्न निरन्तर ध्यान दिन आग्रह गरेका छन् ।