रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ विवरण सङ्कलनका लागि ‘गाउँमै सेवा’ अभियान सुरु गरेको छ। सोही अभियानअन्तर्गत सोमबारदेखि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा बनेका परिचयपत्र वितरण र नयाँ विवरण सङ्कलन कार्य सुरु भएको हो। यसअघि सुनापति गाउँपालिका र रामेछाप नगरपालिकाका विभिन्न वडामा कार्यक्रम सम्पन्न भइसकेको छ।
प्रशासन कार्यालयका अनुसार हालसम्म रामेछाप नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा परिचयपत्र वितरण र तथ्याङ्क सङ्कलन सकिँदा ६४६ जनाको विवरण सङ्कलन भएको छ भने १४१ जनाले बनेर आएका परिचयपत्र पाएका छन्। अहिले नगरपालिका–८ मा अभियान सञ्चालन भइरहेको छ।
वडा स्तरमै शिविर आयोजना गरी विवरण सङ्कलन गरिँदा विशेष गरी ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहज भएको रामेछाप नगरपालिका–७ का अध्यक्ष एवं नगर प्रवक्ता समीर कार्कीले बताए । उनका अनुसार अशक्तहरूलाई वडाकै एम्बुलेन्समार्फत विवरण दर्ताका लागि घरदेखि ल्याउने र पु¥याउने सुविधा दिइएको छ।
सुनापति गाउँपालिकामा मात्रै हालसम्म ५६७ जनाको विवरण सङ्कलन भएको छ। परिचयपत्र वितरणसँगै स्थानीय प्रशासन र प्रहरीले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको हुँदा नागरिकले दोहोरो लाभ पाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए। उनका अनुसार सामाजिक सुरक्षा भत्ता, बैङ्क खाता सञ्चालनलगायतका सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक र अशक्तलाई सदरमुकाम धाउनुपर्ने बाध्यता थियो। “अब भने गाउँमै सेवा पुगेकाले उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको छ,” थापाले भने।
उनले अभियानलाई क्रमशः सबै पालिकाका वडामा विस्तार गरिने जानकारी दिए। “अहिले रामेछाप नगरपालिका र गोकुलगंगामा एक–एक टोली खटिएका छन्। त्यहाँ सकिएपछि अन्य पालिकामा पनि टोली पठाइनेछ,” प्रजिअ थापाले बताए।