दोरम्बा हत्याकाण्ड २२ वर्षपछि पनि पीडित परिवार न्यायको आसमा

  • प्रकाशित मिति: शनिबार, साउन ३१ २०८२
  • तामाकोशी

रामेछाप हरेक वर्ष साउन आउँछ, तर साउन ३२ ले ल्याउने पीडा भने मन्थली नगरपालिका–९ पुरानागाउँका कपिलराज गिरीका लागि कहिल्यै घट्दैन । गाउँ वरिपरि सब थोक उस्तै देखिए पनि उनका लागि २०६० सालको त्यो बीभत्स दिन अझै पनि बारम्बार ताजै हुन्छ ।

त्यो दिन उनका पिता पदमराज गिरीसहित २१ जना माओवादी नेता–कार्यकर्ता तत्कालीन दोरम्बा गाविसमा तत्कालीन शाही नेपाली सेनाको गोलीबाट ढलेका थिए । “ साउन ३२ सकियो, सम्झना पनि सकियो भन्ने जस्तो व्यवहार गरिन्छ,” कपिलराज भन्छन्, “तर त्यो दिन हाम्रो जीवनको बाटो एकै पटक भत्किएको हो ।”



२०६० साउन ३१ गते बिहानै कपिलराजका बुबा पदमराज गिरी घरबाट निस्किए । दोरम्बा जाने र फर्किदा आलु तरकारी ल्याउने कुरा घरमा चलेको थियो । तर अर्को दिन आयो । लासको खबर । त्यस बेलामा कपिलराज जम्मा १४ वर्षका थिए । “कान्छो भाइ दूध खाने उमेरमा क्रियापुत्री बस्नुपर्ने बाध्यता आयो,” उनी सम्झन्छन् । आमाको सिउँदो पुछियो, परिवार बिचल्लीमा पर्‍यो ।

 

 

 

 

 

 

 

 

 

 

 

घटनापछि उनी आफैँ खोजीमा लागे । रक्ताम्मे पाखोमा भेटिएका लास चिन्नै नसकिने अवस्थामा थिए । बुबाको गोडामा बन्चरोको चोट देख्दा मात्रै उनलाई विश्वास भयो । तर त्यो शोकमा साथ दिने कोही थिएनन् । न पार्टी, न नेतागण । उनको भनाइ अनुसार बरु, उनले प्रहरी चौकीमा कुटपिट, यातना भोगे ।

बिदेसिनु बाध्यता बन्यो, ऋण तिर्न र परिवारको पेट पाल्नुप¥यो । तर पीडादायी सम्झना भने हरेक वर्ष साउनसँगै फर्किन्छ । “दोरम्बा हत्याकाण्डमा मारिएका सहिद र परिवारलाई पार्टीले कहिल्यै वास्ता गरेन,“ कपिलराज भन्छन्, “दोषी अझै कारबाही मुक्त छन् ।

“ उनका भनाइमा तत्कालीन मेजर राममणि पोख्रेल र उनका टिम अझै कारबाही मुक्त छन् । “नेता टङ्कलाल घिसिङको सहजिकरणमा उजुरी गरेका पनि धेरै वर्ष भइसके,” कपिलराज भन्छन्, “तर खोजी–सुनुवाइ भएन । शान्ति समिति बनाइन्छ, तर हामीलाई जानकारी दिइँदैन ।”

दोरम्बा हत्याकाण्डपछि केही वर्षमै शान्ति सम्झौता भयो, माओवादी पार्टी सरकारमा पुग्यो । २०६४ को निर्वाचनमा त दुई तिहाइ बहुमतसहित सत्ता सम्हाल्यो । तर कपिलराजलाई लाग्छ, पीडित परिवारका लागि केही पनि फेरिएन ।

“सरकारमा पुगे पनि पार्टीले आफ्नै सहिद र परिवारलाई वास्ता गरेन,” उनले कटु अनुभव सुनाए, “आज पनि हामी न्याय खोज्दै छौँ, तर कुनै ढोका खुल्दैन ।” राज्यले दोरम्बा हत्याकाण्ड हत्या गरिएकालाई सहिद घोषणा गर्ने बाहेक पीडितलाई न्यायको महसुस हुने केही काम गर्न नसकेको उनको गुनासो छ ।

दोरम्बाको कालो दिन

२०६० साउन ३२ गतेको बिहान, रामेछाप बजारस्थित ब्यारेकबाट मेजर राममणि पोख्रेलको नेतृत्वमा सेनाको टोली दोरम्बा पुगेको थियो । बैठक र वैवाहिक भोज तयारी भइरहेका घरलाई घेराबन्दी गरी बाहिर रहेका एक माओवादीलाई ढालेर बाँकी १९ जनालाई नियन्त्रणमा लिइयो ।

हात बाँधेर डाँडाकटेरी पुर्‍याइएका उनीहरूलाई लाइनमा उभ्याएर गोली हानी हत्या गरियो । स्थानीय युवराज मोक्तान र उनका छोरा लीला मोक्तानसहित २१ जनाको ज्यान गयो । त्यसपछि माओवादीले युद्ध विराम भङ्ग भएको घोषणा गरे ।

सेनाको कारबाहीपछि माओवादी पक्षबाट पनि ‘सुराकी गरेको’ आरोपमा स्थानीयलाई सजाय दिइयो । गाउँ सुनसान भयो, धेरै परिवार विस्थापित भए । आजसम्म पनि सबै फर्किएका छैनन् । दोरम्बाको डाँडाकटेरीमा आज स्मारक बनेको छ । तर पीडित परिवारका लागि त्यो पर्याप्त छैन ।

“राज्यले सहिद घोषणा बाहेक केही गरेको छैन,” कपिलराज गुनासो गर्छन् । २२ वर्ष बितिसक्दा पनि दोरम्बा हत्याकाण्डमा हत्या गरिएकाको पीडित परिवारले न्याय पाएका छैनन् । तर कपिलराज गिरी सहित २१ परिवारमा अझै पनि निराश छाएको छैन । “भनिन्छ नि, सास रहुन्जेल आस । शरीरमा एक मुठ्ठी श्वास रहेसम्म न्याय खोजिरहने प्रण गरेको छु,” कपिलराज दृढतापूर्वक भने ।

मन्थलीमा अन्तरक्रिया 

यस वर्ष २२ औँ स्मृति दिवसमा रामेछाप सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम आयोजना भयो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, मानवअधिकारकर्मी र पीडित परिवार सहभागी भए ।

गएका वर्षहरूमा हत्या गरिएको स्थान दोरम्बाको डाँडाकटेरीमा स्मृति दिवस विशेष कार्यक्रमहरू हुने गरेका थिए । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरू नै आउने गरेका थिए । तर २२ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम गर्‍यो ।

कार्यक्रममा नेता श्यामकुमार श्रेष्ठ, डिल्लीमान तामाङ, मैनकुमार मोक्तानलगायतले हत्याकाण्ड स्मरण गरे । काँग्रेस, एमाले र अन्य दलका नेताहरूले पनि पीडित परिवार अझै न्यायविहीन रहेको उल्लेख गरे ।