लिखुतामाकोशी गाउँपालिका–७ मा कालोपत्रे सडक एक महिनामै उप्कियो, बस्ती पहिरोको जोखिममा

  • प्रकाशित मिति: शुक्रबार, साउन १६ २०८२
  • लेखबहादुर वि.क

रामेछाप  रामेछापको हलेदे–धोबी–सिरिसे–ढाडेसडक खण्डअन्तर्गत लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ क्षेत्रमा कालोपत्रे गरिएको सडक एक महिनामै उप्किन थालेको छ । १२ करोड ६५ लाख ५४ हजार रुपैयाँ लागतमा निर्माण गरिएको सडकमा अहिले पहिरो, भत्किएको वाल र टालटुल कामको कारण जनजीवन जोखिममा परेको छ।

बागमती प्रदेश सरकारको बजेटमा श्री गौरीशङ्कर–रुपाकाली जेभीले ४.२ किलोमिटर सडक कालोपत्रे गरेको थियो। ठेकेदार कम्पनीले २०८० असार १८ गतेबाट काम थालेको भए पनि २०८२ असारभित्र सकिएको योजना गुणस्तरहीन भएको स्थानीयको गुनासो छ।



स्थानीय मेनुका आले मगरले भनिन, “ठेकेदारले राम्रो काम गर्नुको साटो आँखामा छारो हाल्ने काम गर्‍यो। हामीले काम ठिक भएन भने पनि कसैले नसुनेको पीडा छ।” ठाउँ–ठाउँमा कालोपत्रे उप्किएको र भित्तामा लगाइएको सेर तथा मेसिनरी वालसमेत भत्किएको उनको भनाइ छ ।

सडकमा कटिङ जथाभाबी गरिएको र संरचनाको संरक्षण नहुँदा बस्ती नै बग्ने अवस्थामा पुगेको गाउँपालिकाका जनप्रतिनिधिहरू बताउँछन्। वडा नं. ७ की कार्यवाहक वडाध्यक्ष कल्पना पाण्डेले भनिन्, “ढ्याङ्ग्रेको पहिरोले १५ घर भएको बस्ती जोखिममा छ। निर्माण व्यवसायी र कार्यालय कसैले चासो देखाएको छैन।”

सडक निर्माणमा गर्दा गरिएको लापरबाहीले लगातार पहिरोले गइरहेकाले सवारी आवागमन र सर्वसाधारणलाई यात्रामा जोखिम भएको उनले बताइन् । पहिरो नियन्त्रणको लागि न निर्माण व्यवसायी र पूर्वाधार कार्यालयले कुनै चासो नदिएको उनको गुनासो छ ।

सडक विस्तारका क्रममा भित्ता संरक्षणको आवश्यक ध्यान नदिई गरिएको कटिङले पहिरो निम्त्याएको भन्दै गाउँपालिका अध्यक्ष केशव महतले पूर्वाधार विकास कार्यालयको आलोचना गरे। उनले भने, “स्थानीय सरकारलाई तगारोको रूपमा हेर्ने प्रवृत्तिका कारण हामीले आवाज उठाउँदा पनि नसुनेको हो। अहिले ढ्याङ्ग्रेमै मात्र १५ घर परिवार विस्थापित हुने जोखिममा छन्।” अध्यक्ष महतका अनुसार, दैनिक रूपमा पहिरो पन्छाउन गाउँपालिकाले डोजर परिचालन गर्नुपर्दा आर्थिक भार थपिएको छ।

उक्त सडक आयोजनाबारे पटक–पटक सरोकारवालालाई ध्यानाकर्षण गराइए पनि पूर्वाधार विकास कार्यालयले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ। स्थानीय विकासको नाममा गुणस्तरहीन काम भइरहेकोप्रति उनीहरू आक्रोशित छन्। ” सडकमा झरेको पहिरो हटाउनका लागि दैनिक गाउँपालिकाले डोजर परिचालन गर्नुपर्दा खर्च धान्न सक्ने अवस्था नरहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पहिरोले केही बारी बगाए पनि बस्ती ४ सय मिटर टाढा रहेकाले तत्काल ठूलो जोखिम नरहेको बताए । उनका अनुसार फिल्डमा रहेको टोलीले पहिरो नियन्त्रणका लागि पानी कटाउने जस्ता कामहरू गरिरहेको छ।