रामेछापमा पूर्वाधार कार्यालय प्रमुखको गैर जिम्मेवारीमाथि स्थानीयको आक्रोश

  • प्रकाशित मिति: शुक्रबार, साउन २ २०८२
  • लेखबहादुर वि.क

रामेछाप । पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुन मगरको गैर जिम्मेवार व्यवहारका कारण स्थानीय आक्रोशित बनेका छन् ।

विकास निर्माणको काम अलपत्र पार्दै कार्यालयको ढोका थुनेर बस्ने, सेवाग्राहीसँग रुखो व्यवहार गर्ने र कार्यालय समयमा समेत सरकारी पोसाक नलगाउने पुनमाथि स्थानीयले कडा कारबाहीको माग गरेका छन् ।



पूर्वाधार विकास कार्यालय रामेछाप मार्फत सञ्चालित गोगनपानी–गागल, पकरबास–गोगनपानी–गाल्पा, खिम्ती–रस्नालु–ठोसेजस्ता महत्त्वपूर्ण सडक आयोजना तथा विभिन्न स्थानका पक्की पुलहरू लामो समयदेखि अधुरै छन् । निर्माण व्यवसायीसँगको सम्झौता सकिएपनि पटक–पटक म्याद थप गरी काम नथालिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् ।

खाँडादेवी गाउँपालिकाका स्थानीयले यसअघि पनि कार्यालयमा ताला लगाएर दबाब दिएका थिए । तर, ६ महिना अघि सडक सम्पन्न गर्ने सहमति भए पनि योजनाहरू अझै अलपत्र अवस्थामा छन् । गोकुलगंगाको ग्राभेल गर्ने योजना ढाँटिएको दुई वर्ष बितिसकेको गोकुलगंगा गाउँपालिकाका पूर्व अध्यक्ष खड्ग सुनुवार बताउँछन् । उनका अनुसार रस्नालुको माथ्लो बाटो अहिले सवारीसाधन सञ्चालन गर्नै नसकिने अवस्थामा पुगेको छ ।

नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले पुनलाई ‘अत्यन्त गैर जिम्मेवार’ भन्दै आलोचना गरेका छन् । उनले भने“ कुनै पनि कार्यालयको प्रमुख शासक होइन । त्यसैले कार्यालयमा पुग्ने सेवाग्राहीलाई राम्रो व्यवहार हुनुपर्दछ । अराजक शैलीको व्यवहार कसैलाई मान्य हुँदैन ।
युवा परिषद् खाँडादेवी गाउँपालिकाका कार्यकारी उपाध्यक्ष मदन खड्काले जनताको पक्षमा आवाज उठाउँदा कार्यालय प्रमुख पुनले दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार तथा सर्वसाधारणले पुनमाथि निगरानी राखी प्रशासनले आवश्यक कारबाही गर्नुपर्ने आवाज चर्कँदै गएको छ । कार्यालय प्रमुखको अराजकता र लापरबाहीले राज्यको लगानी जोखिममा परेको तथा आम नागरिकलाई सेवा पाउन कठिन भएको भन्दै आक्रोश बढ्दै गएको हो ।