रामेछाप । पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुन नागरिक सेवा प्रवाहभन्दा पनि गैर जिम्मेवार व्यवहारमा केन्द्रित भएको गुनासो बढ्दै गएको छ।
कार्यालय प्रमुख पुनमाथि नागरिकको गुनासो सुन्ने र समाधान गर्ने जिम्मेवारीबाट विमुख भई सेवाग्राहीलाई थर्काउने, काम नगर्ने निर्माण व्यवसायीसँग साँठगाँठ गर्ने र पत्रकारलाई समेत धम्क्याउनेजस्ता कार्यमा संलग्न रहेको आरोप लाग्दै आएको छ।
नागरिकबाट बारम्बार गुनासो आइरहेका बेला पत्रकारहरू कार्यालयमार्फत पछिल्ला दुई वर्षमा सम्पन्न काम, बजेट खर्च, टेन्डर प्रक्रियाजस्ता विषयमा सूचना लिन बिहीबार कार्यालय पुगेका थिए। पत्रकार सूचना अधिकारीको कार्यकक्षमा पुगेपछि प्रमुख पुनले सूचना अधिकारीलाई बोलाई निर्देशन दिएर पठाएको पत्रकारहरूको दाबी छ।
पछि कार्यालय प्रमुखकै कार्यकक्षमा पुगेका पत्रकारले नमस्कार गर्दा पुन फेसबुक हेर्दै व्यस्त थिए र नमस्कार फर्काउने फुर्सदसमेत नपाएको भन्दै उल्टै पत्रकारको नैतिकता माथि प्रश्न उठाएका थिए। “नमस्कार फर्काउने मेरो स्टाइल फरक हो,” भन्दै उनले पत्रकारलाई ‘आचरण नभएको’ टिप्पणी गर्नुका साथै ‘१५ हजारको विज्ञापन ल्याउने माग्ने पत्रकार होइन’ भन्दै धम्की दिए ।
पत्रकारले भिडियो खिच्दा समेत पुन आक्रोशित बनेर ‘जे गर्न सक्नुहुन्छ, गर्नुस्’ भन्दै चुनौती दिएको पत्रकारहरूको भनाइ छ। त्यसै दिन प्रमुख पुन सरकारी पोसाक नलगाई हाफ टी–सर्टमा कार्यकक्षमा ढोका लगाएर बसेको देखिएको थियो। सरकारी सेवा ऐनअनुसार कार्यालय समयमा पोसाक लगाउनुपर्ने व्यवस्था छ, र त्यस बापत पोसाक भत्ता पनि प्रदान गरिन्छ। तर पुन भने कार्यालयलाई निजी निवासझैँ चलाएको आरोप लागिरहेको छ।
पूर्वाधार विकास कार्यालयमार्फत भएका कामहरूको गुणस्तरबारे सेवाग्राही, स्थानीयवासी र सरोकारवालाबाट पटक–पटक गुनासो आइरहे पनि कार्यालय प्रमुख त्यसलाई सम्बोधन गर्नभन्दा ढाकछोप गर्नमै लागिपरेको आरोप पनि उछालिएको छ।
पुनमाथि निर्माण व्यवसायीसँगको मिलेमतो, म्याद थपमा बार्गेनिङ, गुणस्तरहीन काम पास गरिदिने लगायतका आरोप पहिलेदेखि नै लाग्दै आएका छन्। सो कार्यालयले गरेको कामको विषयलाई लिएर जिल्लाका सरोकारवाला निकायमा पनि उजुरीहरू परेका छन् । कार्यालय प्रमुख पुनको व्यवहारबाट हैरान भएका सेवाग्राहीले उहाँको व्यवहार निन्दनीय भएको बताउँदै आएका छन् ।