रामेछापमा ७ दिने अभिभावक शिक्षा सहजकर्ता तालिम सम्पन्न

  • प्रकाशित मिति: बुधबार, असार ३२ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित अभिभावक शिक्षा सहजकर्ता सम्बन्धी  ७ दिने आधारभूत तालिम सम्पन्न भएको छ ।

गत असार २५ गतेदेखि सुरु भएको अभिभावक शिक्षा सहजकर्ता सम्बन्धी तालिम  मङ्गलवार सम्पन्न भएको हो । चाइल्डएड नेटवर्क फाउन्डेसन  नेपालको आर्थिक सहयोग र  मन्थली नगरपालिकासँगको समन्वयमा सेतो गुँरास राष्ट्रिय बाल विकास सेवाद्वारा सञ्चालित इसिडी हार्मोनी परियोजनाअन्तर्गत  सञ्चालित तालिममा मन्थली नगरपालिकाका विभिन्न वडाबाट सिफारिस भएर आएका १८ जना, इसिडी सेन्टर १० जना र मन्थली नगरपालिकाको बाल विकास संयोजक १ जना गरी कूल २९ जनाको सहभागिता थियो ।



तालिममा सहभागीहरूले यो तालिम निकै नै महत्त्वपूर्ण रहेको र आफूहरूले धेरै कुराहरू सिक्ने अवसर पाएको बताएका थिए । मन्थली नगरपालिका वडा नं. १० की अप्सरा बुढाथोकी थापाले सिकाइका हिसाबले यो तालिम निकै नै फलदायी र महत्त्वपूर्ण भएको बताउनुभयो ।

हामीले हाम्रा बालबालिकाहरूको सर्वाङ्गीण विकासमा एउटा असल र जिम्मेवार अभिभावक बनेर के कस्ता क्रियाकलाप गर्नु पर्ने रहेछ भन्नेबारेमा आवश्यक ज्ञान, सीप तालिमबाट प्राप्त भएको बताउनुभयो । अभिभावक शिक्षा सबैको लागि महत्त्वपूर्ण हुने बताउँदै उहाँले नगरपालिकाले आवश्यक आर्थिक सहयोग गरी यो नगरभित्रका प्रत्येक टोल, समुदाय र बस्ती स्तरमा पुगेर अभिभावकहरूलाई अभिभावक शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभयो । यसै गरी अर्का सहभागी शिक्षकसमेत रहनु भएका रवीन्द्र भट्टराईले पनि यो तालिमबाट बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान र सीप आफूहरूले प्राप्त गरेको बताउनुभयो । विद्यालय शिक्षा सुधारका लागि  अभिभावक शिक्षा कार्यक्रम निकै नै महत्त्वपूर्ण रहेको बताउँदै उहाँले नगरपालिकाले यो कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन रहेको बताउनुभयो ।

अभिभावक शिक्षा राष्ट्रिय प्याकेजको आधारमा गर्भावस्था देखी आठ वर्षसम्मका बालबालिकाहरूको अभिभावक वा स्याहारकर्ता, नव विवाहित दम्पती तथा गर्भवती महिलालाई लक्षित  गरी निरन्तर अभिभावक शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि अभिभावक शिक्षा सहजकर्ता तयारी गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सेतो गुँरास राष्ट्रिय बाल विकास सेवाका सुपरिवेक्षक पदम सुन्दर लिम्बूले बताउनुभयो ।  युनिसेफ नेपाल र सेतो गुराँस राष्ट्रिय बालबालिका सेवाको प्राविधिक सहयोगमा नेपाल अभिभावक शिक्षा राष्ट्रिय प्याकेज २०७९ को आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको अभिभावक शिक्षा सम्बन्धी कार्यक्रमको राष्ट्रिय प्याकेजका आधारमा टोल तथा समुदाय स्तरमा पुगेर तालिम सञ्चालन हुने उहाँले बताउनुभयो । नेपाल सरकारले नै अभिभावक शिक्षा कार्यक्रम देशभरि नै सञ्चालन गर्नुपर्छ भनेर अभियान अघि बढाएको उल्लेख गर्दै लिम्बूले सरकारले अघि सारेको महाअभियानलाई सहयोग पुर्‍याउने र प्रारम्भिक बाल विकास उमेर समूहका बालबालिकाहरूको सर्वाङ्गीण विकास गरी भविष्यमा राष्ट्रका लागि सक्षम नागरिक उत्पादनमा टेवा पुर्‍याउने लक्ष्यका साथ यो कार्यक्रम  सञ्चालन गर्न लागिएको पनि बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मन्थली  नगरपालिकाका उपसचिव हेमन्त कुमार बुढाथोकीले अभिभावक शिक्षा कार्यक्रम सञ्चालनको लागि जनप्रतिनिधिसँग आफूले पहल गर्ने बताउनु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारका निम्ति शिक्षकको क्षमता अभिवृद्धिमा राज्यले धेरै लगानी गरेको बताउँदै अबको लगानी अभिभावक शिक्षा कार्यक्रममा गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न एकमुष्ट बजेट विनियोजन गरिएको बताउँदै सेतो गुराँससँग समन्वय गरेर अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिने उपसचिव बुढाथोकीले बताउनुभयो । अभिभावक शिक्षाले  सामुदियक विद्यालय शिक्षा तथा प्रारम्भिक उमेरका बालबालिकाको सिकाइ तथा विकासमा महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उहाँले नगरले पनि अभिभावक शिक्षा कार्यक्रमलाई निकै महत्वका साथ लिएको बताउनु भएका थियो ।

यसैबिच मन्थली नगरपालिकाका बाल विकास संयोजक (छैठौँ अधिकृत स्तर)  नवराज विश्वकर्माले प्रारम्भिक बाल विकास उमेर समूहको बालबालिकाहरूको उमेर, क्षमता र रुचिअनुसारको उचित स्याहार र सिकाई क्रियाकलाप गराई सर्वाङ्गीण विकास गराउनको लागि अभिभावहरूलाई आवश्यक ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्ने उद्देश्यसहित अभिभावक शिक्षासम्बन्धी कार्यक्रम  सञ्चालन गर्न लागिएको बताउनुभयो । अभिभावक शिक्षा  सहजकर्ताहरूले नगर भित्रका समुदायमा उचित स्याहारको ढाँचामा अभिभावका स्याहारकर्ताहरू, गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाहरूको अभिभावकहरूलाई समुदाय स्तरमा पुगेर सकारात्मक चलन, अभ्यास अभिवृद्धि गर्ने र सकारात्मक ज्ञान, सीपको विकास गरी  उनीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन कम्तीमा १० वटा सेसन सञ्चालन गरिने संयोजक विश्वकर्माले बताउनुभयो ।

तालिम समापन सत्रको अध्यक्षता सेतो गुँरास राष्ट्रिय बाल विकास सेवाका सुपरिवेक्षक पदम सुन्दर लिम्बूले गर्नु भएको थियो । तालिमको सहजीकरण सेतो गुँरास राष्ट्रिय बाल विकास सेवाकी जिल्ला परियोजना रामेछापकी संयोजक मैयाँ बस्नेतले गर्नु भएको थियो । तालिममा सहभागीहरूलाई प्रमुख अतिथि हेमन्त कुमार बुढाथोकी मार्फत प्रमाण-पत्र समेत वितरण गरिएको थियो । तालिम मन्थली-१ स्थित फ्रिडम रिसोर्टको हलमा सञ्चालन गरिएको थियो । ७ दिने आवासीय तालिममा सहभागीहरूलाई यातायात खर्चको समेत व्यवस्था गरिएको थियो ।