रामेछापको उमाकुण्ड गाउँपालिकामा सहुलियत दरमा रासायनिक मल वितरण

  • प्रकाशित मिति: बिहिबार, असार २६ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा कृषकहरूका लागि सहुलियत दरमा रासायनिक मल वितरण भइरहेको छ। गाउँपालिकाको च्यादलु केन्द्रमा असार २३ गतेदेखि स्थानीय यूथ भिजन कृषि सहकारी संस्था लिमिटेडले ५ मेट्रिक टन मल भण्डारण गरी वितरण गरिरहेको हो ।

कृषकहरूले युरिया मल प्रतिकेजी २९ रुपैयाँमा र डीएपी मल ५८ रुपैयाँमा खरिद गरिरहेका छन् । यसअघि प्रतिकेजी १०० रुपैयाँसम्ममा मल खरिद गर्दै आएका कृषकहरूलाई यो व्यवस्था राहतको विषय भएको सहकारीका सचिव दिसन श्रेष्ठले बताउनुभयो ।



गाउँपालिकाको स्वीकृति अनुसार, स्थानीय सहकारीमार्फत सहुलियत दरमा मल वितरण भइरहेको सचिव श्रेष्ठले बताउनुभयो । सहुलियत मूल्यमा वितरण गरिने मल च्यादलुमा मात्रै सीमित नरही मैदाने, लाप्चाने, कुभुकास्थली, बाम्ती, गुम्देल र गुप्तेश्वर क्षेत्रका कृषकलाई पनि उपलब्ध गराइने भएको छ।

निकट भविष्यमा बाम्तीमा शाखा स्थापनासहित गुम्देलका कृषकलाई सेवा थप विस्तार गर्ने सहकारीको योजना छ। यस कदमले दुर्गम र पहाडी भेगका कृषकहरूलाई मल आपूर्तिमा सहजता ल्याउने सहकारीको विश्वास विश्वास छ।