आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले नयाँ ठाउँबाट सेवा प्रारम्भ गर्‍यो

  • प्रकाशित मिति: बुधबार, असार २५ २०८२
  • तामाकोशी

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले रामेछापले मन्थली अस्पतालको पुरानो भवनबाट सेवा दिन थालेको छ । बुधवार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले सेवा प्रारम्भ गर्नुभयो ।

यसअघि बसपार्क नजिकैबाट सेवा दिइरहेको चिकित्सालयले पूर्वाधारको अभावले प्रभावकारी सेवा दिन सकेको थिएन । भवन निर्माणका लागि बजेट व्यवस्थापन भए पनि उपयुक्त जग्गा अभावले अस्पताल भवन बन्न नसकेको चिकित्सालयले जनाएको छ ।
सेवा शुभारम्भ गर्नुहुँदै मन्त्री थापा मगरले प्रदेश सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई अस्पतालका रूपमा विस्तार गरिरहेको जानकारी दिनुभयो । “चितवन र नुवाकोटमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अस्पतालका रूपमा विकास भइसकेका छन्, हेटौँडामा पनि यही असारभित्र सेवा सञ्चालनको तयारीमा छौँ,” उहाँले भन्नुभयो ।



रामेछापमा अस्पतालका रूपमा विकास गर्ने क्रममा स्थानको अभाव भएपछि मन्थली नगरपालिकाले पुरानो भवन उपलब्ध गराएकोमा उहाँले आभार व्यक्त गर्नुभयो । अब उक्त भवनबाट इनडोर सेवा सहित दीर्घ रोगी र अन्य रोगहरूको उपचार समेत विस्तार गरिने मन्त्री थापाको भनाइ छ ।
बागमती प्रदेश सरकारले जिल्ला स्तरका सबै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई सुदृढ बनाउँदै अस्पताल स्तरको सेवा विस्तार गर्ने रणनीति अनुसार रामेछापमा पनि कदम चालिएको मन्त्री थापामगरले बताउनुभयो ।

कार्यक्रममा चिकित्सालयका अध्यक्ष नवराज पथिकले ठाउँको अभावले भौतिक पूर्वाधार निर्माण हुन नसक्दा सेवा प्रभावकारी नभएको बताउनुभयो ।

उहाँले हाल मन्थली नगरपालिकाको सहयोगमा सेवा सुरु भए पनि स्थायी भवनका लागि आवश्यक जग्गा खोजी जारी रहेको जानकारी दिनुभयो । अहिले पनि दक्ष जनशक्ति र उपकरण अभाव रहेकोले सेवा विस्तारमा थप सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।