रामेछापमा २२ प्रतिशत खेतमा धान रोपाइँ सकियो

  • प्रकाशित मिति: आइतबार, असार १५ २०८२
  • तामाकोशी

रामेछाप । असार महिना नेपाली किसानका लागि मेहनत, व्यस्तता र आशाको प्रतीक हो। “मानो रोपेर मुरी फलाउने“ विश्वाससहित किसानहरू वर्ष दिनको मेहनत यही महिनामा सुरु गर्छन् ।

धान खेतीको मुख्य सिजन भएकाले असारलाई कृषिमा पर्वसरह मानिन्छ । यही कारण असारमा किसानहरू विशेष गरी धान रोपाइँमा जुटिरहेका हुन्छन्।
धान खेतीको मुख्य सिजन मानिने असार महिना आधा सकिँदा रामेछाप जिल्लामा कुल २२ प्रतिशत खेतमा मात्र धान रोपाइँ सम्पन्न भएको छ। जिल्लाको सिँचाइ सुविधा भएका क्षेत्रहरूमा रोपाइँ सक्रिय रूपमा भइरहेको छ भने आकाशे पानीको भर पर्ने अधिकांश पाखे खेतहरू अझै बाँझै रहेको कृषि विकास कार्यालय रामेछापका सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीले बताउनुभयो ।



उहाँले भन्नुभयो“हालसम्म रामेछापका २२ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । सिँचाइ सुविधा भएका क्षेत्रहरूमा रोपाइँ सक्रिय रूपमा भइरहेको छ । आकाशे पानीको भर पर्ने अधिकांश पाखे खेतहरूमा रोपाइँ हुन सकेको छैन ।”
उहाँका अनुसार जिल्लामा कुल ७ हजार ८ सय ५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा अहिलेसम्म करिब ७८ प्रतिशत खेतमा रोपाइँ हुन बाँकी छ। पर्याप्त वर्षा नहुनु रोपाइँमा प्रमुख चुनौती बनेको छ। तथापि, गत वर्षको तुलनामा यो वर्षको रोपाइँको प्रगति केही राम्रो देखिएको छ। कृषि विकास कार्यालयका अनुसार गत वर्ष असारको दोस्रो सातासम्म जम्मा १० प्रतिशत खेतमा मात्रै रोपाइँ भएको थियो।

कृषकहरू अझै पनि पर्याप्त वर्षाको प्रतीक्षामा रहेको मन्थली नगरपालिका–९ पुरानागाउँका राज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “असार लागेपछि खासै पानी परेको छैन । कृषकहरू पर्याप्त वर्षाको प्रतीक्षामा छन् । हाम्रातिर साउनको अन्तिमसम्म रोपाइँ हुने भएकाले वर्षा हुने र रोपाइँ हुने अपेक्षामा छौँ ।”

रामेछापका खिम्ती बेसी (लिखुतामाकोसी), मन्थलीका भटौली, माडीमुहान, फुलासीको देवीटार र रामेछाप नगरपालिकाको साघुँटार फाँटहरुमा राम्रो धान उत्पादन हुने गरेको छ ।