रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा गत वर्षको असोजमा आएको बाढीले क्षति पु¥याएका सडक र पक्की पुलहरू अझैसम्म स्थायी मर्मत हुन नसक्दा स्थानीय वासीहरू सास्ती भोग्न बाध्य छन्।
गाउँपालिकामा सामान्य झरी परे पनि सवारी साधन ठप्प हुने अवस्था आउँछ। एम्बुलेन्ससमेत सञ्चालनमा कठिनाइ हुने भएकाले बिरामीलाई अस्पताल पु¥याउनु जोखिमपूर्ण बन्ने गरेको छ। सामान्य झरीले पनि बाटो बन्द हुँदा बिरामीलाई अस्पताल लान धेरै समस्या रहेको दोरम्बा शैलुङ–३, टोकरपुरकी कर्णकुमारी कँडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो“सामान्य झरीले पनि बाटो बन्द हुन्छ । यो बेलामा बिरामीलाई अस्पताल पुर्याउनु भनेको युद्ध जिते जस्तै हो।” लेकाली भेगमा पर्ने दोरम्बा शैलुङ गाउँपालिकामा सात वटा वडा छन्। पालिकाले ६० देखि ६५ करोड रुपैयाँसम्मको वार्षिक बजेट बनाउने गरेको भए पनि भौगोलिक जटिलता र खोलानालाको जोखिमका कारण सडक कालोपत्रे गर्न सकेको छैन। कोटरपुरकै मानकुमारी कँडेलले भन्नुभयो, “ठुलो कुरा होइन, हल्का वर्षा हुँदा पनि खोलाहरू उर्लिन्छन्। त्यति बेला त पालिकाको सेवा सुविधा भन्ने कुरा सपनाजस्तै लाग्छ।”
गाउँपालिकाले केही सडकमा व्यवस्थित नाला निर्माणजस्ता पूर्वाधार निर्माणको पहल गरेको भए पनि बर्सेनि बाढीले ती संरचनामा क्षति पु¥याउँदै आएको छ। पालिकाको वार्षिक बजेटको ठुलो हिस्सा सडक निर्माणमै खर्च हुने गरेको भए पनि अहिलेसम्म एक मिटर सडक पनि कालोपत्रे हुन नसकेको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले बताउनुभयो ।
उहाँले भन्नुभयो“सडक विकासमा दोरम्बा शैलुङ गाउँपालिका देश भरकै पालिका भन्दा पछाडि छ । अहिलेको तथ्य यही हो । अहिलेसम्म एक मिटर पनि कालोपत्रे सडक बन्न सकेको छैन ।” गाउँपालिकाले सबै वडा जोड्ने कुरिटार–थर भन्ज्याङ–दुधिलेभन्ज्याङ मुख्य सडक निर्माणका लागि प्रदेश र संघ सरकारसँग पटक–पटक पहल गरे पनि खासै सुनुवाइ भएको छैन। आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि बागमती प्रदेश सरकारले मात्र एक करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर यति बजेटले यस्तो ठाडो भूगोलमा केही काम गर्न नसकिने अध्यक्ष मोक्तानले बताउनुभयो ।
