रामेछाप । रामेछापको मन्थली नगरपालिकामा पहिलो पटक विश्व प्रसिद्ध कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको प्रयोग गर्दै क्षयरोग (टीबी) परीक्षण गरिएको छ। स्वास्थ्य निर्देशनालय हेटौँडाको समन्वयमा मन्थली नगरपालिका स्वास्थ्य शाखाले “क्षयरोगमुक्त नेपाल अभियान” अन्तर्गत सञ्चालन गरेको विशेष स्वास्थ्य शिविरमा ५१२ जनाको फोक्सोको परीक्षण गरिएको हो।
केही दिन अघि मन्थली–१४ फुलासी पोखरी र मन्थली–१ स्थित मन्थली नगर अस्पतालमा आयोजित शिविरमा नगरका सबै १४ वडासहित छिमेकी पालिकाबाट पनि नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
AI प्रविधि युक्त डिजिटल एक्स-रे मार्फत गरिएको परीक्षणमा ६ जनामा क्लिनिकल डाइग्नोसिस (Clinical Diagnosis) मार्फत क्षयरोग पुष्टि भई उपचार प्रक्रिया सुरु गरिएको मन्थली नगरपालिकाले जनाएको छ।
त्यस्तै, २२ जना शङ्कास्पद बिरामीका नमुना थप परीक्षणका लागि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, ठिमी भक्तपुर पठाइएको छ। मन्थली नगरपालिका क्षयरोगमुक्त नेपाल अभियानका कार्यक्रम संयोजक भुवन थापाले भन्नुभयो, “AI प्रविधिबाट परीक्षण गर्दा कम समयमा धेरै नागरिकमा क्षयरोगको अवस्था पहिचान गर्न सकिन्छ। यसले रोकथाम र उपचारमा ठुलो सहजता ल्याएको छ।” उहाँका अनुसार प्रविधिमैत्री स्वास्थ्य सेवा सञ्चालनले समुदायमा विश्वास बढाउने र दीर्घकालीन रूपमा क्षयरोग न्यूनीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।