रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित चिहान खोलामा गएराति आएको पहिरोले क्षति पु¥याएको छ।
स्थानीय चेली बसेलको गोठ पहिरोले पुरिँदा गोठभित्र रहेका एक गाई र एक बाछो मरेको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो। त्यसैगरी झगरसिं बसेलको घर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
घटनापछि गाउँपालिका अध्यक्ष मोक्तान, उपाध्यक्षसहित स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थलमै खटिएको छ। चिहान खोलाका १२ घरमध्ये अन्य पाँच घर अझै पहिरोको उच्च जोखिममा रहेको हुँदा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भइरहेको छ।
स्थानीय बासिन्दामा पहिरोको त्रास अझै बाक्लिँदै गएको छ। यही वडाको लेखर्का बस्तीमा गएको वर्षको भदौमा पहिरोले १० जनाको ज्यान लिएको थियो।
स्थानीय प्रशासनले वर्षा अझै जारी रहेकाले सतर्कता अपनाउन अनुरोध गर्दै जोखिम क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिएको जनाएको छ