रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीको गाईखुरामा माझी समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार तथा सांस्कृतिक अभ्यासको संरक्षण र प्रवर्धनका उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति प्रतिष्ठानको साझेदारीमा माझी जागरण केन्द्र मन्थली–८ द्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय तहका प्रमुख, समुदायका अगुवा तथा सरोकारवाला निकायको व्यापक सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्य मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ रहनुभएको थियो।
कार्यक्रममा संस्कृतिविद् डा. कृष्णभट्ट चन्द र नेपाल आदिवासी जनजाति महासंघ रामेछापका अध्यक्ष श्रीबहादुर माझीले माझी समुदायको परम्परागत संस्कार, सांस्कृतिक अभ्यास र तिनको हालको अवस्था बारेमा प्रस्तुति दिनुभयो।
उहाँहरूले समुदायको मौलिक जीवनशैली, चाडपर्व, विवाह तथा मृत्यु संस्कारका विषयमा ऐतिहासिक पृष्ठभूमिसहित समसामयिक चुनौतीहरूबारे जानकारी गराउनुभयो।
वडा नं. ८ का अध्यक्ष एवं मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले आफ्नो वडामा रहेका माझी समुदायको मौलिक संस्कार संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा मझे सावा, नेपाल माझी उत्थान संघ, महिला उत्थान संघ तथा विद्यार्थी उत्थान संघका जिल्ला कार्यसमितिका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नगरप्रमुख लव श्रेष्ठले विभिन्न जातजातिका संस्कार र संस्कृति जोगाउन मन्थली नगरपालिकाले विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको बताउनुभयो । उहाँले मौलिक संस्कृतिको संरक्षणले सामाजिक विविधता र सहअस्तित्वलाई बल पुग्ने बताउनुभयो।