बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ, प्रहरीले नियन्त्रणमा लियो

  • प्रकाशित मिति: सोमबार, असार २ २०८२
  • तामाकोशी

रामेछाप । फेसबुकमा आत्महत्या गर्ने आशयको सुसाइड नोट लेखेर सम्पर्कविहीन हुनुभएका रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सकुशल भेटिएको छ । उहाँलाई काठमाडौंको बालाजु क्षेत्रबाट सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो। डा. श्रेष्ठलाई प्रहरीले बालाजुको एक घरमा फेला पारेको हो ।

हाल उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौंको भद्रकालीस्थित प्रहरी परिसरमा लगेको बताइएको छ । नवलपरासी जिल्ला घर भएका डा. श्रेष्ठ विगत २५ महिनादेखि रामेछाप अस्पतालमा कार्यरत हुनुहुन्थ्यो। तीमध्ये १८ महिना उहाँले निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा सेवा दिनुभएको थियो।
सम्पर्कविहीन हुनुअघि डा. श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा एक भावुक र आत्मपीडायुक्त लामो स्टाटस लेख्दै आफूमाथि भएको अन्याय, मानसिक दबाब, राजनीतिक हस्तक्षेप र व्यक्तिगत पीडाका विषयमा खुलस्त धारणा राख्नुभएको थियो।



स्टाटसमा उहाँले रामेछाप अस्पताललाई व्यवस्थित, पारदर्शी र उत्कृष्ट सेवा केन्द्र बनाउने प्रयास गर्दैगर्दा केही स्वार्थ समूह र प्रभावशाली राजनीतिक हस्तिहरूबाट झूठा आरोप, धम्की र बदनियतपूर्ण सरुवा प्रक्रिया थोपिएको आरोप लगाउनुभएको छ। अस्पतालमा देखिएका अनियमितता, भ्रष्टाचार र गैरजिम्मेवार कार्यशैली सुधार्न खोज्दा केही कर्मचारीलाई स्पष्टीकरण मागिएको र त्यसको बदलामा राजनीतिक हस्तक्षेपमार्फत सरुवा गरिएको उहाँको दाबी छ।

उहाँले आफ्ना विरुद्ध लागेको दबाब, मन्त्रालयमा सुनुवाइ नहुनु, कार्यालयमै धम्की खप्नु परेको, र १६ वटा टाका लागेको अवस्थामा रातारात परिवारसहित काठमाडौं आउन बाध्य पारिएको पीडाको उल्लेख स्टाटसमा गर्नुभएको छ। फेसबुक स्टाटसको अन्त्यमा डा. श्रेष्ठले आमाबाबु, श्रीमती, छोरीलगायत परिवारसँग माफी माग्दै आत्महत्या गर्न बाध्य भएको अनुभूति व्यक्त गर्नुभएको थियो। उक्त स्टाटस सार्वजनिक भएपछि चिकित्सक समुदाय, नागरिक समाज र सर्वसाधारणबाट गहिरो चिन्ता, सहानुभूति र तत्काल खोजीको माग उठेको थियो।