रामेछापमा आज पनि सार्वजनिक सवारी चलेन

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २० २०८२
  • तामाकोशी

रामेछाप । यातायात व्यवसायीको आन्दोलनले मङ्गलवार पनि रामेछापमा सार्वजनिक यातायातका साधन चलेका छैनन् । विभिन्न माग राखी रामेछापका सार्वजनिक यातायात व्यवसायी सोमबारबाट आन्दोलनमा छन् ।

सार्वजनिक सवारी नचलेपछि सदरमुकाम मन्थलीदेखि गाउँ घरसम्मको जनजीवन प्रभावित बनेको छ । सार्वजनिक यातायात नचल्दा बिरामी लगायत अत्यावश्यक कामले गन्तव्य पुग्नुपर्ने सर्वसाधारण सहित व्यवसायीहरूलाई ठुलो समस्या भएको मन्थलीका कुङ्गला तामाङले बताउनुभयो ।
यो आन्दोलने परीक्षा चलिरहेका विद्यार्थीहरू सबैभन्दा बढी समस्यामा परेका उहाँले बताउनुभयो । यो समस्यामा राज्य गम्भीर नबन्दा झन् झन् समस्याहरू बढ्दै गइरहेको उहाँको भनाइ छ । यातायात व्यवसायीको माग पूरा नभएकाले आफूहरूको आन्दोलन आज पनि जारी रहेको अरनिको यातायात प्रालि मन्थलीका प्रमुख सुवास फुयाँलले बताउनुभयो ।



सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी सङ्घीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ साल जेठ १ गते जारी गरेको राजपत्रमा निजी सवारी साधन (रातो नम्बर प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ‘ज’ तत्काल खारेजीको माग गरी यातायात व्यवसायीले आन्दोलन गरिरहेको छ ।

सर्वोच्च अदालतबाट सङ्घ संस्था दर्ता ऐन २०३४ मा रहेका सङ्घ समिति नवीकरण सम्पत्ति फुकुवाको मिति २०८० चैत २० गतेको परमादेश तत्काल कार्यान्वयन हुनुपर्ने, सवारी ऐन २०४९ संशोधनको क्रममा रहेको हुँदा नेपाल सरकारसँग यातायात व्यवसायी महासङ्घहरू र मजदुर सङ्घ सङ्गठन हरूसँग विभिन्न मितिमा भएको सम्झौता सहमतिहरू र नेपाल सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदनहरू यथाशीघ्र कार्यान्वयन हुनुपर्ने लगायतका ७ बुँदे यातायात व्यवसायीहरूको माग छ ।