रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा बागमती प्रदेशस्तरीय फोटो पत्रकारिता तथा व्यक्तित्व विकास तालिम सुरु भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल बागमती प्रदेशको आयोजनामा विहीबारबाट तालिम सुरु भएको हो ।
जेष्ठ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट आएका ३५ जना फोटो पत्रकारहरू सहभागि छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको सँगको सहकार्यमा भएको तालिमको राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तले उद्घाटन गर्नुभयो।
प्रदेशस्तरीय पत्रकारहरूको क्षमता विकासका लागि अत्यावश्यक ठानेर तालिम आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल बागमती प्रदेशका सचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारितामा फोटोको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे। उनीहरूले एउटै फोटोले हजारौं शब्दको व्याख्या गर्न सक्ने शक्ति हुने बताए।
आधुनिक पत्रकारितामा दृश्य सामग्रीको प्रभाव दिन प्रतिदिन बढ्दै गएको सन्दर्भमा यस्ता तालिमहरूले पत्रकारहरूलाई अझ प्रभावकारी र जिम्मेवार बनाउने विश्वास व्यक्त गरे । तालिममा अनुभवी प्रशिक्षकहरूले फोटो पत्रकारिता सम्बन्धी सैद्धान्तिक ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने आयोजकले जनाएको छ ।