गणतन्त्र दिवसका अवसरमा रामेछापमा प्रभातफेरी र सभा

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १५ २०८२
  • तामाकोशी

रामेछाप । १८ औं गणतन्त्र दिवस–२०८२ को अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा आज बिहान प्रभातफेरी तथा सभा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम गणतन्त्र दिवस जिल्ला स्तरीय समिति, रामेछापको आयोजनामा सम्पन्न भएको हो। प्रभातफेरी मन्थलीस्थित मदन आश्रित चोकबाट सुरु भई मन्थली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समिति कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो।



कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा बोल्दै जिसस प्रमुख चिना खड्का र रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले गणतन्त्रको रक्षा, समावेशी लोकतन्त्रको प्रवद्र्धन र जनउत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो । गणतन्त्र दिवस परेर आजै रामेछाप नगरपालिका–८ बिटार पार्कमा झन्डोत्तोलन पनि गरिएको छ ।