उमाकुण्ड गाउँपालिका–७ भुजीमा अचार बनाउने तालिम सम्पन्न

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ८ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा १५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । उमाकुण्ड गाउँपालिकाको गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तरगत अचार बनाउने तालिम सञ्चालन भएको हो ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र उमाकुण्ड गाउँपालिकाको संयुक्त अनुदानमा सञ्चालन भएको तालिममा २० जना महिलाहरूको सहभागिता रहेको थियो ।



बिहीबार तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले तालिमबाट सिकेको कुरालाई व्यवहारमा प्रयोग हुने र महिला दिदीबहिनीको जीवन स्तरमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

तालिमबाट सिकेको कुरा जीवन उपयोगी भएन भने त्यो पनि भ्रष्टाचार हुने उहाँको भनाइ छ । स्थानीय सरकारले लाखौँ खर्च गरेर यस्ता सिप विकासका तालिमहरू सञ्चालन गरेकाले यो तालिम बाट सिकेको कुरालाई प्रयोग गरी जीवन स्तरमा थप सुधार आउनुपर्नेमा उहाँको जोड छ ।

उपाध्यक्ष सावित्री सुनुवारले तल्लो स्तरमा रहेका महिला दिदीबहिनीको जीवन स्तर उकास्दै हरेक क्षेत्रको मूलधारमा ल्याउन सहयोग पुगोस् भनेर गाउँपालिको यस्तो तालिम सञ्चालन गरेको बताउनुभयो । उत्पादन भएको अचारको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने बताउँदै उहाँले उद्योग दर्ता गरेर सफल उद्यमी बन्न सुझाव दिनुभयो ।

गाउँपालिका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रुद्रमणि नेवारले हरेक परिवर्तनमा महिलाको सशक्त भूमिका अहिलेको आवश्यकता भएको बताउनुभयो । यसका लागि महिलाहरूले यस्ता सिपमूलक तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्दै आत्मनिर्भरको यात्रा तय गर्नुपर्नेमा उहाँको जोड छ । तालिममा सहभागी दिदी बहिनीहरूमा ९ प्रकारको अचार बनाउने सिप विकास भएको तालिमका प्रशिक्षकमा खेतराज कार्कीले बताउनुभयो ।