पँधेरो संरक्षणमा रामेछापको चिसापानीवासी

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ४ २०८२
  • तामाकोशी

रामेछाप । कुनै बेला रामेछापको मन्थली नगरपालिका–८ चिसापानीवासीको प्राण धान्ने एक मात्र पानी पँधेरो थियो ठुलो पँधेरो । चिसापानीको नेवार बस्तीको बिचमा रहेको ठुलो पँधेरो चौबिसै घण्टा खाली हुँदैन थियो ।

पँधेरामा रातदिन पानी भर्ने मानिसहरू लाइन बस्थे । दिन होस या रात सयौँको सङ्ख्यामा गाग्रीको लाइन हुन्थे । पानी पर्याप्त नहुने, पालो पर्खनु पर्ने, गाउँभरिका मानिसहरूले पानी खाने एउटा मात्र पँधेरो भएको कारण पालो पाई नसक्नु हुन्थ्यो ।



गाग्रीहरू पालोमा लाइन राखिन्थे । घण्टौँपछि पालो आएपछि पानी भर्नुपर्ने चिसापानीवासीको बाध्यता थियो । पानीको पालो बस्ने मानिसहरू राति पालो पर्खिएर पँधेरोमा नै बस्थे । स्थानीय भुवन श्रेष्ठले विगत सम्झँदै भन्नुभयो“मानिसहरू रातभरि सुत्दैन थिए । पानीको पालो पर्खन प्रत्येक घरबाट एक जना खट्नु पथ्र्यो । लाइनमा पालो कुरेर नबसे पालो मिचिन्थ्यो । मालो पाइएन भने पानी खान पाइँदैन थियो ।”

सिङ्गो चिसापानी गाउँको एउटा पँधेरो, अर्को कुनै विकल्प थिएन । पानीकै अभावले कतिपय मानिसले गाउँ नै छाडे । पानी थाप्न पालो बस्ने मान्छे घरमा नभएपछि बुढा–बुढीहरू छोरा छोरीको साथ लागेर सहर छिरे । पानीको अभावले गाउँ खालि हुन लागेपछि विकल्पको खोजी भयो । स्थानीय युवाहरू विकल्पको खोजीमा लागे । विकल्प निस्कियो तामाकोसीको पानी लिफ्ट गरेर तान्ने ।

गाउँको सिरानमा पानी पु¥याएर ट्याङ्की बनाउने र गाउँमा घर घरमा धारा बाँड्ने । युवाहरूले मेहनत गरे । सम्बन्धित निकाय गुहारे, श्रोत जुटाए । पानीले आहत भएका स्थानीयवासीले रातदिन श्रमदान गरे । सबै अनुकूल मिल्यो । गाउँमा तामाकोशीको पानी पुग्यो । पानीको अभावले काकाकुल बनेका चिसापानीवासी पानीको धनी भए । घर घरमा धारो पुग्यो । घर घरमा धारा पुगेपछि ठुलो पँधेरो को जानु ? गाउँमा पानी प्रशस्त भएपछि घर, करेसामा पानीको प्रयोग बढ्यो । कतिपयले त करेसामा थोरै भए पनि तरकारी खेती लगाउन थाले । गाउँ हरियो हुँदै गयो । गाउँ छाडेर सहर पसेकाहरू पनि पानीको सुविधा भएपछि बिस्तारै गाउँ फर्कन लागे ।

ठुलो पँधेरोमा पनि मूल फुट्यो । पानी भर्न घण्टौँ पर्खनु पर्ने ठुलो पँधेरामा बाहिरबाटै पानी बग्न लाग्यो । कहिल्यै पानी नदेखिने ठुलो पँधेराको पानी जम्मा हुने आहालमा कमल पो फुल्न लाग्यो ।

तर कुनै बेला चिसापानीवासीको प्राण धान्ने एक मात्र पानी ठुलो पँधेरो आजकाल शून्य बन्यो । दिन होस या रात खानेपानीको लागि लाइने नटुट्ने ठुलो पँधेरो अहिले सुनसान बनेको छ । लिफ्टको पानीले धित नमर्ने केही मानिसहरू अहिले पिउने पानी लिन ठुलो पँधेरामा पुग्छन् । पँधेरामा मानिसको चाप कम भएपछि फोहोर बढ्यो । सरसफाइ गर्ने मान्छे भएनन् ।

पँधेरो फोहोर हुन थालेपछि आफूहरू पँधेरोको संरक्षणमा जुटेको स्थानीय शान्ता श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो“हाम्रा पुर्खालाई यही पँधेरोको पानीले तिर्खा मेटायो । हामीले पनि धेरै वर्ष यहीको पानी खायौँ । अहिले लिफ्ट मार्फत तानिएको तामाकोशीको पानी घर घरमा आउँछ । जसले गर्दा ठुलो पँधेरो संरक्षणमा ध्यान गएन । यो कुरा महसुस गरेर अहिले चिसापानी कै चिनारी ठुलो पँधेरोको संरक्षणमा जुटेका छौँ ।”

ठुलो पँधेरोको इतिहास मर्न नदिन र नयाँ पुस्तालाई पुरानो पुस्ताले गरेको दुःख स्मरण गराउन ठुलो पँधेरोको छेउमा अहिले बाल उद्यान बनाइएको मन्थली नगरपालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । बाल उद्यानको छेउमा नै पानी बोकेको प्रतिमा राखेर विगतको स्मरण गराउने प्रयास गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो“ठुलो पँधेरोको संरक्षण र सरसफाइमा स्थानीय जुटेका छन् । पुर्खालाई पानी खुवाएर बचाउने ठुलो पँधेरोलाई अब हामीले बचाउनु पर्छ ।”