आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न आग्रह

  • प्रकाशित मिति: मंगलबार, बैशाख ३० २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले नगरभित्र सञ्चालन हुने आयोजनाहरूलाई आयोजना निर्माण गर्दा निस्केको नदीजन्य पदार्थको राजस्व बुझाई नगरपालिकाबाट अनुमति लिएर मात्र प्रयोग आग्रह भनेको छ ।

मङ्गलवार नदीजन्य पदार्थ (ढुङ्गा गिट्टी बालुवा माटो) को कर शुल्क सम्बन्धी एक सार्वजनिक सूचना प्रकाशन गरी नगरपालिकाले यस्तो भनेको हो ।
वातावरणीय परीक्षण प्रतिवेदन भएको आयोजनाको हकमा प्रतिवेदनमा तोकिएको क्षेत्रमा मात्र उत्खनन र सङ्कलन गरी नगरपालिकामा राजस्व बुझाई अनुमति लिएर मात्र प्रयोग गर्नु सूचनामा भनिएको छ ।



नगरपालिकाको वातावरणीय परीक्षण प्रतिवेदन भएको क्षेत्रको प्रयोग गर्नु पर्नेमा नदीजन्य पदार्थको ठेक्का सकार गर्ने ठेकेदारलाई राजस्व बुझाएर प्रयोग गर्न र सम्बन्धित आयोजना निर्माण गर्दा निस्केको नदीजन्य पदार्थको नगरपालिकालाई राजस्व बुझाई नगरपालिकाबाट अनुमति लिएर मात्र प्रयोग गर्न भनिएको छ ।

त्यसै गरी अप्रशोधित नदीजन्य पदार्थ ढुवानी गरी लैजाने सवारी साधनले ढुवानी अवधिभर नदी प्रवेश आदेश र राजस्व तिरेको निस्सा तथा प्रशोधित नदीजन्य पदार्थ ढुवानी गराउने सवारी साधनले विल विजक साथमा लिएर मात्र नदीजन्य पदार्थ ओसार पसार गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

सडक निर्माण र विस्तारको क्रममा सडक अधिकार क्षेत्र भित्रबाट निस्कने ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्री सम्बन्धित आयोजनाले उपयोग गर्ने अवस्थामा त्यस्तो सामाग्रीको परिमाणको आधारमा लाग्ने बिक्री मूल्य बराबरको रकम पालिकामा बुझाएर मात्र उपयोग गर्न भनिएको छ । निजी जग्गाबाट ढुङ्गा, गिट्टी, बालुवा वा माटो उत्खनन गरी बिक्री गर्दा तोकिएको राजस्व तिरी स्थानीय तहबाट अनुमति लिएर मात्र उत्खनन सङ्कलन र बिक्री नगरपालिकाले आग्रह गरेको छ ।

पछिल्लो समय नगरपालिकाभित्र सञ्चालित सडक आयोजनाहरूले नगरपालिकालाई जानकारी नै नदिई कानुन विपरीत नदीजन्य पदार्थको दोहन गरेको गुनासो आउने गरेको छ । विशेष गरी सङ्घ र प्रदेश सरकारबाट सञ्चालन हुने सडक आयोजनाहरूले नगरपालिकासँग संविधान अनुसारको कुनै समन्वय नगरी एकलौटी ढङ्गले काम गरेको र नदीजन्य पदार्थको दोहन गरेको गुनासो छ ।

केही दिन अघि मन्थली नगरपालिका–८ र ११ को सिमाना बफर खोलामा निर्माण सुरु भएको सडक योजनालाई लिएर जनप्रतिनिधि र निर्माण व्यवसायीबिच विवाद भएको थियो । उक्त सडक योजना बारे स्थानीय सरकारलाई कुनै जानकारी नभएको र कानुन विपरीत नदीजन्य पदार्थको दोहन भएको विषयमा वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठ र निर्माण व्यवसायी वीरबहादुर बरुवालबिच विवाद भएको थियो । नगर प्रवक्ता समेत रहनु भएका अध्यक्ष श्रेष्ठ र निर्माण व्यवसायी बरुवालबिच भएको विवादको भिडियो सामाजिक सञ्चालनमा भाइरल भएको थियो ।